महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
महेन्द्रनगर: महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको यातायात पुनः सञ्चालनमा आएको छ।
महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि यहाँको शारदा ब्यारेज (बनबासा पुल) मा चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले मंगलवार साँझ महाकाली नदीमा पानीको बहाव ८६ हजार क्युसेक मापन गरिएको जानकारी दिए। “मंगलवार दिउँसोसम्म नदीमा पानीको बहाव एक लाख २४ हजार क्युसेकसम्म पुगेको थियो,” प्रवक्ता रावतले भने, “महाकालीमा जलस्तर घटेसँगै बनबासा पुलमा सवारीसाधन सञ्चालन भएको छ।”
पानीको बहाव बढ्दा मङ्गलबार बिहानैदेखि मोटरसाइकल र पैदल यात्रुलाई आवागमनका लागि खुला गरिए पनि ठूला सवारीसाधन रोकिएका थिए। भारतीय पक्षले एक सय वर्ष पुरानो पुल जीर्ण भएकाले जोखिम हुन सक्ने भन्दै लामो समयदेखि बाढीका बेला चारपाङ्ग्रे सवारीसाधन सञ्चालन नगर्न आग्रह गर्दै आएको छ।