कोल्ड स्टोर आयोजना अलपत्र पारेको विषयमा रास्वपा डोटीद्वारा मन्त्रालयको ध्यानाकर्षण
धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटी जिल्ला समितिले जोरायल गाउँपालिकामा वर्षौंदेखि अलपत्र परेको कोल्ड स्टोर (चेम्बर) निर्माण आयोजना तत्काल सम्पन्न गर्न माग गर्दै सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ध्यानाकर्षण गराएको छ।
आर्थिक वर्ष २०७७/०७८ मा जोरायल गाउँपालिका-१ मा २० मेट्रिक टन क्षमताको उक्त कोल्ड स्टोर निर्माणका लागि ५० लाख ९१ हजार १२८ लागत अनुमान स्वीकृत भई ३९ लाख ७७ हजार ६६४ मा ठेक्का सम्झौता भएको थियो। २०७८ असार ३० गतेभित्र सम्पन्न हुनुपर्ने सो आयोजना चार पटकसम्म म्याद थप हुँदा पनि हाल करिब आधा मात्र सम्पन्न भएपछि रास्वपाले यसप्रति गम्भीर आपत्ति जनाएको हो।
रास्वपा डोटी जिल्ला सहसचिव तथा जिल्ला संगठन विभाग प्रमुख डिल्लिराज भट्टद्वारा मन्त्रालयका निमित्त सचिव श्याम सिंह खड्कासमक्ष बुझााइएको ज्ञापनपत्रमा पर्याप्त प्राविधिक आधार र प्रभावकारी अनुगमनबिना पटक-पटक म्याद थप गरिनुले सुशासन र सार्वजनिक उत्तरदायित्वमाथि प्रश्न उठेको उल्लेख छ।
उचित भण्डारणको अभावमा डोटीका किसानहरूले आफ्ना उत्पादन न्यून मूल्यमा बिक्री गर्नुपर्ने वा कुहिएर नष्ट हुने बाध्यता खेप्नुपरेको भट्टले बताए।
ज्ञापनपत्रमा दीपायल सिलगढी नगरपालिका-४ मा निर्माण सम्झौता भएर पनि कामै सुरु नगरी म्याद थप गरिएको समान प्रकृतिको अर्को आयोजनाबारे समेत निष्पक्ष समीक्षा गर्न माग गरिएको छ। साथै, ढिलाइको छानबिन गरी निर्माण कम्पनीलाई कारबाही गर्न र यथाशीघ्र आयोजना सञ्चालनमा ल्याएर किसानलाई प्रत्यक्ष लाभ सुनिश्चित गर्न मन्त्रालयसमक्ष माग गरिएको छ।