सुदूर नेपाललाई विश्वसँग जोड्दै

२० रुपैयाँमै भरपेट शाकाहारी भोजन : धनगढीमा डेढ वर्षदेखि निरन्तर सेवा, दैनिक १५० जनाले लिँदै लाभ

२०८३ साउन ५, ०२:३० लक्ष्मण ढुङ्गाल

धनगढी: कैलालीको धनगढीमा न्यून आय भएका, श्रमिक तथा असहाय नागरिकलाई लक्षित गर्दै २० रुपैयाँमै भरपेट शुद्ध शाकाहारी भोजन उपलब्ध गराउने सेवा डेढ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको छ। सेवा सञ्चालन भएपछि दैनिक ज्याला–मजदुरी गर्ने, आर्थिक रूपमा कमजोर तथा भोक मेटाउन सस्तो विकल्प खोज्ने नागरिकलाई ठूलो राहत पुगेको छ।

धनगढी उपमहानगरपालिका अन्तर्गत बसपार्क गोलमार्केट क्षेत्रमा सञ्चालन भइरहेको यो सेवामूलक अभियान श्री श्री १००८ महामण्डलेश्वर स्वामी राहुलेश्वरानन्द गिरीको संरक्षकत्वमा तथा श्री ऋषिकेश पीठ धर्म संरक्षण सम्बर्द्धन समितिमार्फत सञ्चालन हुँदै आएको हो।

समितिले हरेक दिन बिहान १०:३० बजेदेखि १२:३० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म प्रसादका रूपमा शुद्ध शाकाहारी भोजन वितरण गर्दै आएको छ। केवल २० रुपैयाँमा भरपेट खाना उपलब्ध हुने भएकाले दैनिक ठूलो संख्यामा सेवाग्राही यहाँ पुग्ने गरेका छन्।

सेवा लिन आउनेहरूका अनुसार धनगढीका अधिकांश होटल तथा खाजाघरमा यस्तै प्रकारको खानाका लागि १०० देखि २०० रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था छ। तर यहाँ न्यून शुल्कमा स्वच्छ र गुणस्तरीय भोजन पाइने भएकाले दैनिक ज्यालादारी गर्ने मजदुर, रिक्सा चालक, श्रमिक, विद्यार्थी तथा आर्थिक रूपमा विपन्न नागरिकलाई निकै सहज भएको छ।

धनगढीका स्वयंसेवक बब्लु कुमार चौधरीका अनुसार सेवाका लागि आवश्यक खाद्यान्न तथा अन्य व्यवस्थापनमा महामण्डलेश्वर स्वामी राहुलेश्वरानन्द गिरीका दीक्षित शिष्यहरूले सहयोग गर्दै आएका छन्। उनका अनुसार सेवा कुनै विशेष वर्गका लागि नभई भोकाएका, असहाय तथा आवश्यकतामा रहेका सबैका लागि खुला छ।

चौधरीले धनगढीको पटेलामा पनि यस्तै सेवामूलक पीठ स्थापना गरी भोजन सेवा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए।
हाल दैनिक करिब १५० जनाले २० रुपैयाँमै भरपेट भोजन ग्रहण गरिरहेको समितिले जनाएको छ। सेवामूलक भावनाले सञ्चालन भइरहेको यस अभियानलाई अझ प्रभावकारी र दीर्घकालीन बनाउन इच्छुक नागरिक तथा सहयोगी हातहरूबाट सक्दो सहयोगको अपेक्षा गरिएको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस