बाजुरामा जिप दुर्घटना अपडेट: २ जनाको मृत्यु, ७ घाइते, चालकसहित ४ को अवस्था मध्यम
धनगढीः बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडक खण्डमा आइतबार दिउँसो जिप दुर्घटनामा घाइतेमध्ये दुई जनाको मृत्यु भएको छ भने सात जना घाइतेको कोल्टी अस्पताल बाजुरामा उपचार भइरहेको छ।
दिउँसो करिब १:२५ बजे धुलाचौरबाट दुधिला खोला तर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १४७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको थियो। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट कुवाडी र इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
दुर्घटनामा चालक जनविर बुढा (२५) सहित धर्मलाल बुढा (४०), मिजरा बुढा (३१) र अम्मर सिंह बुढा (४०) मध्यम घाइते भएका थिए। उनीहरूलाई हिमाली गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि कोल्टी आधारभूत अस्पताल पठाइएको थियो।
उपचारकै क्रममा हिमाली गाउँपालिका–२, बाजुरा घर भएका धर्मलाल बुढा र ताजाकोट गाउँपालिका–५, हुम्ला घर भएका अम्मर सिंह बुढालाई चिकित्सकले साँझ ७:३५ बजे मृत घोषणा गरेका छन्।
दुर्घटनामा २० वर्षीया अस्मिता थापा, २८ वर्षीय जंगसिंह बुढा, २० वर्षीय गोरख रोकाया, २७ वर्षीय लोकेन्द्र बुढा र ९ वर्षीया सुस्मा बुढा सामान्य घाइते भएका छन्। उनीहरूलाई पनि प्रहरीको सवारीमार्फत उपचारका लागि कोल्टी अस्पताल पठाएको थियो।
प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।