सरकारले यो वर्ष स्थायी पदपूर्ति नगर्ने
काठमाडौँः सरकारले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) पछि बढी हुने (फाजिल) कर्मचारीहरूको व्यवस्थापन नभएसम्मका लागि नयाँ स्थायी पदपूर्ति प्रक्रियामा रोक लगाएको छ।
आजको सचिवस्तरीय बैठकले ओएण्डएमका कारण दरबन्दी कटौती भएपछि उत्पन्न हुने कर्मचारी व्यवस्थापनका लागि यस्तो निर्णय गरेको हो।
बैठकको निर्णयअनुसार अब नेपाल सरकारका कुनै पनि निकायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वस्वीकृति बिना नयाँ स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग पठाउन पाउने छैनन्।
ओएण्डएम सर्वेक्षण अनुसार विभिन्न निकाय हट्दा कर्मचारीहरू ‘फाजिल’ मा पर्ने भएपछि चालू आर्थिक वर्षका लागि यस्तो कडाइ गरिएको बताइएको छ। हाल कार्यरत स्थायी कर्मचारीहरूको व्यवस्थापनलाई प्राथमिकता दिन नयाँ भर्ना प्रक्रियामा नियन्त्रण गरिएको हो।
बैठकले स्वीकृत फाजिल कर्मचारीहरूलाई कामविहीन हुन नदिने नीति लिएको छ। सम्बन्धित मन्त्रालय वा निकायले पहिले आफ्नो आन्तरिक दरबन्दीमा कर्मचारी मिलान गर्नेछन्। त्यसरी मिलान गर्दा पनि बढी हुन आउने कर्मचारीहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा संघीय कार्यालय, प्रदेश सरकार वा स्थानीय तहका रिक्त ठाउँमा कामकाजमा खटाइने छ।