टर्चको भरमा सुत्केरी सेवा दिँदै बैतडीको कोटपेटरा स्वास्थ्य चौकी
विद्युत् समस्या समाधान गर्न केन्द्रिय सांसदसँग आग्रह
बैतडी: बैतडीको डिलाशैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्यकर्मी टर्चलाइटको भरमा सुत्केरी सेवा दिन बाध्य भएका छन्।
स्थानीयका अनुसार स्वास्थ्य चौकीमा करिब एक–दुई महिनादेखि विद्युत् सेवा बन्द रहेको छ। यसअघि लघु जलविद्युत्बाट विद्युत् आपूर्ति हुँदै आएको भए पनि लाइन बिग्रिएपछि समस्या समाधान हुन सकेको छैन। २४सै घण्टा सञ्चालन हुने स्वास्थ्य चौकीमा रातिको समयमा सुत्केरी सेवा प्रदान गर्न अत्यन्त कठिनाइ भइरहेको जनाइएको छ।
राति सुत्केरी आएमा स्वास्थ्यकर्मीले टर्च चार्ज गर्न करिब ३०देखि ४० मिनेट पैदल हिँड्नुपर्ने अवस्था रहेको बताइएको छ। यस्तो परिस्थितिमा सुरक्षित मातृत्व सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न चुनौती थपिएको स्थानीयको भनाइ छ।
स्वास्थ्यकर्मीहरूले कठिन परिस्थितिका बीच पनि सेवा दिन छाडेका छैनन्। तर आधारभूत पूर्वाधार व्यवस्थापनमा सम्बन्धित निकाय र जनप्रतिनिधिको ध्यान नपुगेको भन्दै स्थानीयले गुनासो गरेका छन्।
स्थानीयले बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिमोहन भण्डारीलाई समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन्।
विद्युत् मर्मतको ठेक्का भारतीय कम्पनीले पाएको र तीन जिल्लाको जिम्मेवारी एउटै कम्पनीसँग रहेकाले संघीय सरकारको समन्वय र दबाब आवश्यक रहेको उनीहरूको भनाइ छ।पालिकाको अन्य वडामा समेत बिद्युत सेवा पहुँचमा नपुगेको स्थानीयले बताएका छन्। विद्युत् समस्या तत्काल समाधान नभए स्वास्थ्य चौकीको सेवा थप प्रभावित हुने भन्दै स्थानीयले सम्बन्धित निकाय र जनप्रतिनिधिलाई आवश्यक पहल गर्न आग्रह गरेका छन्।