सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको बालमन्दिर परिसरमा राष्ट्रिय युवा संघद्वारा फलफूलका बिरुवा रोपण

२०८३ साउन २, ०२:०३ लक्ष्मण ढुङ्गाल

धनगढी: नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार धनगढी उपमहानगरपालिका–१ स्थित एल.एन. चोकको बालमन्दिर परिसरमा आयोजित कार्यक्रममा आँप, अम्बा र लिचीलगायत फलफूलका बिरुवा रोपिएको हो।

राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष विनोद बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष महाराज गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा पूर्वमन्त्री नारदमुनी रानासहित विभिन्न तहका नेता–कार्यकर्ता तथा युवाहरूको सहभागिता रहेको थियो।

करिब ४०–४५ जनाको सहभागितामा सम्पन्न वृक्षरोपण कार्यक्रममार्फत वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा फलफूलयुक्त वातावरण निर्माणमा योगदान पुर्‍याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले जलवायु परिवर्तनका चुनौती सामना गर्न वृक्षरोपण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। साथै, रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा पनि सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको उनीहरूको भनाइ थियो।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस