‘मास्टर्नी’को प्रचारात्मक गीत विवादपछि प्रियंका कार्कीको माफी, गीत हटाइयो
काठमाडौँ: अभिनेत्री तथा निर्माता प्रियंका कार्कीले चलचित्र ‘मास्टर्नी’ को प्रचारात्मक गीतलाई लिएर उत्पन्न विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शिक्षक समुदाय र दर्शकसँग सार्वजनिक रूपमा माफी मागेकी छन्।
शुक्रबार साँझ फेसबुकमार्फत वक्तव्य जारी गर्दै कार्कीले गायक दुर्गेश थापाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत चलचित्रको आधिकारिक गीत नभई प्रचार–प्रसारका लागि मात्र तयार पारिएको स्पष्ट पारेकी छन्। उनका अनुसार विवादित गीत चलचित्रको कथावस्तुमा समावेश गरिएको छैन।
कार्कीले गीतमा प्रयोग भएका केही शब्द र दृश्यका कारण शिक्षक–शिक्षिका पेसा र त्यससँग जोडिएका व्यक्तित्वहरूको गरिमामा आँच पुगेको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको बताएकी छन्। कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा कुनै पनि सम्मानित पेसा वा समुदायको भावनामा चोट पुर्याउने उद्देश्य नरहेको उल्लेख गर्दै उनले व्यक्तिगत रूपमा तथा आफ्नो सम्पूर्ण टिमका तर्फबाट क्षमायाचना गरेकी छन्।
पहिलोपटक चलचित्र निर्माणमा लागेको उल्लेख गर्दै कार्कीले कसैको आस्था, पेसा वा सम्मानमा ठेस पुर्याउने कल्पनासमेत नगरेको र यस घटनालाई आगामी दिनमा थप जिम्मेवार र संवेदनशील बन्ने पाठका रूपमा लिएको बताएकी छन्।
विवादलाई मध्यनजर गर्दै प्रचारात्मक गीत दुर्गेश थापाको युट्युब च्यानलबाट स्थायी रूपमा हटाइएको र आफ्ना सबै सामाजिक सञ्जालबाट पनि सम्बन्धित सामग्री हटाइसकिएको जानकारी उनले दिएकी छन्। साथै, दर्शकबाट प्राप्त सुझाव र आलोचनालाई सकारात्मक रूपमा ग्रहण गर्दै आगामी सिर्जनामा अझ बढी संवेदनशील र जिम्मेवार रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।