सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका सहकारीद्वारा अनुदानको रसायनिक मलमा कालोबजारी(अडियो रिर्पोट)

२०७५ जेठ ८, ०६:५८

सरकारले अनुदान सहयोग गरेको रसायनिक मल, कैलालीका कृषि सहकारी संस्थाले मनोमानी मुल्यमा किसानहरुलाई बिक्री गरिरहेका छन । कृषि सामाग्री कम्पनी र साल्ट्र ट्रेडिङ कर्पोरेशनबाट सस्तोमा किनेर किसानहरुलाई महंगो मुल्यमा बिक्री भईरहेको पाईएको हो  ।

८ सय १३ रुपैयामा खरिद गरेको मल सहकारी संस्थाहरुले साढे ९ सयदेखी ११ सय रुपैया सम्ममा बिक्री गरिरहेका हुन । ढुवानी खर्च, लोड अनलोड खर्च र मुनाफाका नाममा सहकारीहरुले किसानबाट चर्को मुल्य असुलिरहेका छन् । धनगढी उपमहानगरपालिका र अत्तरिया क्षेत्रका सहकारी संस्थाहरुले यस्तो मनोमानी गरिरहेका पाईएको छ । 
धानको बिउ राख्ने समय सुरु भएसँगै बजारमा रसायनीक मलखादको माग बढेको मौका पारेर अनुदानीत मलको कारोबार गर्ने सहकारी संस्थाहरुले बजार भाउ भन्दा महंगो मुल्यमा किसानहरुलाई मलखाद बेचीरहेका हुन ।

साल्ट्र टे«डिङ कर्पोरेशन र कृषि समाग्री केन्द्रबाट प्रतिबोरा ८ सय १३ रुपैयामा खरिद गरेर लगेको युरिया मल अत्तरियाको सिद्धबाबा कृषि सहकारी संस्थाले ९ सय ५० मा बिक्रि गरिरहेको छ । तर सोही मल घोडाघोडी नगरपालिका क्षेत्रका सहकारीले अत्तरिया क्षेत्रको भन्दा कम मुल्यमा बिक्रि गरिरहेका छन् । 
सहकारीहरुले ढुवानी खर्च, लोड अनलोड खर्च र मुनाफाका नाममा किसानबाट बढी मुल्य असुलिरहेका हुन् । अत्तरियाको सिद्धबाबा कृषि सहकारी संस्था जस्तै धनगढीका केही सहरकारीले पनि किसानहरुलाई महंगो मुल्यमा मल बेचिरहेका छन । मलखाद आपूर्ती तथा वितरण व्यवस्थापन जिल्ला स्तरीय कार्यविधि २०६९ अनुसार सहरकारी संस्थाको बिक्रि मूल्य सम्बन्धीत नगरपालिका तथा गाँउपालिकाले निर्धारण गर्नुपर्ने हो ।

तर यहाँका स्थानीय तहहरुले मलखादको मूल्य निर्धारण नगर्दा सहकारीहरुको मनपरी चलेको हो । मलखादमा कालोबजारी भइरहेको गुनासोपछि मागको ३० प्रतिशत आपूर्तीको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीले स्थानीय तहहरुलाई पत्राचार गर्दै मलखादको मूल्य निर्धारण गरिदिन आग्रह गरेको साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका सहायक महाप्रबन्धक केशव पाण्डेले बताए । 
हुन त सहकारीहरुले बिक्रि कार्यालयबाट डिलरसम्म पु¥याउदाको ढुवानी भाडा, लोड अनलोड खर्च खरिद मूल्यमा जोडि बिक्रि गर्न पाईन्छ । तर यहाँका सहकारीहरुले भने बढि मुनाफा कमाउने उद्देश्यले बदमासी गरिरहेको आरोप लागेको हो । मलखादमा भइरहेको मनोमानी रोक्न भने नियमकारी निकाय उदासिन देखिएका छन् ।

मागको झन्डै ७० प्रतिशत मलखाद आपूर्तीको जिम्मा पाएको कृषि समाग्री कम्पनी धनगढीका निमित्त प्रमुख दुर्गा प्रसाद पाण्डेले भने नियमन भईरहेको बताए । बजारमा मलखादको कृत्रिम अभाव देखाएर मूल्य बृद्धि गर्ने प्रवृत्ति पनि सहकारीहरुमा रहेको पाईन्छ ।

तर यसपाली मलखादको कुनै अभाव नभएको कृषि समाग्री कम्पनी धनगढीले जनाएको छ । अहिले कृष समाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले युरीया प्रतिबोरो ८ सय १३, डिएपी प्रतिबोरा २२ सय ६३ र पोटास प्रतिबोरा १६ सय ६३ मा सहकारी संस्थाहरुलाई वितरण गरिरहेको छ ।

यसमा ढुवानी खर्च र लोड अनलोड खर्च सहित न्यनतम मुनाफा जोडेर बिक्री वितरण गर्न पाईन्छ  । तर ढुवानी खर्च कम आउने ठाउमा महंगो मुल्य र ढुवानी खर्च बढी लाग्ने ठाउमा कम मुल्य राखेको पाईएको हो । 
 

कमेन्ट लोड गर्नुस