भारतीय भन्सारद्वारा १९ क्विन्टल कालो मरिच गौरीफन्टामा बरामद
धनगढीः भारतबाट नेपालतर्फ अवैध रूपमा तस्करी गर्न लागिएको ठूलो परिमाणको कालो मरिच भारतीय भन्सार विभागले बरामद गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार भन्सार अधीक्षक अमर उपाध्याय तथा अधिकारीहरू पवन रस्तोगी, अनूप तिवारी र नारायण सिंहको टोलीले विशेष सूचनाका आधारमा २१० बोरा चनादाल बोकेको ट्रक रोकी खानतलासी गरेको थियो।
जाँचका क्रममा ट्रकमा रहेको चनादालका सबै भन्सार तथा ढुवानीसम्बन्धी कागजात सही भेटिए पनि दालको बोरामुनि करिब १९ क्विन्टल कालो मरिच लुकाएर राखिएको फेला परेको थियो। उक्त कालो मरिचका लागि कुनै पनि वैधानिक कागजात प्रस्तुत गर्न नसकिएको भारतीय अधिकारीहरूले बताएका छन्।
बरामद गरिएको कालो मरिच दिल्लीस्थित शिव शक्ति ट्रान्सपोर्ट मार्फत नेपालका लागि पठाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ट्रक उत्तर प्रदेश हुँदै गाजियाबादबाट लोड भई काठमाडौँतर्फ गइरहेको थियो।
घटनापछि भारतीय भन्सार विभागले ट्रक र बरामद गरिएको सामान नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ। कालो मरिच अवैध रूपमा नेपाल पठाउने प्रयासमा संलग्न व्यक्ति तथा समूहको पहिचान गर्ने कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।