सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वाधार विकास कार्यालय कैलालीमा अराजक गतिविधि गरिएको भन्दै दोषीमाथि कानुनी कारबाहीको माग

२०८३ असार ३२, ११:२४ खबर संवाददाता

धनगढी: पूर्वाधार विकास कार्यालय कैलालीले बुधबार कार्यालय परिसरमा भएको तोडफोड, कर्मचारीमाथिको दुर्व्यवहार, भ्रामक प्रचार तथा अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाहीको माग गरेको हो।

कार्यालयका अनुसार केही व्यक्तिहरूको समूहले कार्यालयमा प्रवेश गरी सार्वजनिक सम्पत्तिमा तोडफोड गर्नुका साथै कर्मचारीहरूलाई धम्की दिने, कार्यालयको नियमित कामकाजमा अवरोध पुर्‍याउने र सामाजिक सञ्जालमार्फत भ्रामक तथा तथ्यहीन प्रचार गर्ने गतिविधि गरेको जनाएको छ। यस्ता कार्यले सार्वजनिक प्रशासनमाथिको विश्वास कमजोर पार्ने र विकास निर्माणका काममा नकारात्मक असर पार्ने कार्यालयको भनाइ छ।

विज्ञप्तिमा कार्यालयले सीमित जनशक्तिबाट सयौं आयोजनहरू निर्धारित समय, लागत र गुणस्तरमा सम्पन्न गर्न कटिबद्ध रहेको जनाउँदै कुनै पनि असन्तुष्टि भए कानुनी र संस्थागत प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा जोड दिएको छ।

कार्यालयले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने, कर्मचारीमाथि अभद्र व्यवहार गर्ने तथा गलत सूचना फैलाउने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने जनाएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन माग गरिएको छ।

साथै, कार्यालयले विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अगाडि बढाउन सबै सरोकारवाला पक्षसँग संवाद र सहकार्य गर्न आफूहरू सधैँ तयार रहेको जनाउँदै कानुनी शासन, सुशासन र सार्वजनिक सम्पत्तिको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्न आग्रह गरेको छ।

बुधवार कार्यालयमा भएको घटनाको विषयमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा कार्यालय परिसरभित्र मदिराबमा बोतलहरू फेला परेको भनी सत्यतथ्य नबुझी समाचार सम्प्रेषण भएको कार्यालयले जनाएको छ। कार्यालयको पछाडितर्फ फेला परेका खाली बोतलहरू घरधनीले नै राखेको स्पष्ट पार्दै यो विषयमा कार्यालयसँग नबुझी समाचार सम्प्रेषण गरिएको भन्दै आपत्ति जनाइएको छ।

 
कमेन्ट लोड गर्नुस