लाम्पाटा प्रकरण : पेमागारा गुरुङलाई शरीर बन्धक बनाउने १० जना थुनामा, ८ जना धरौटी र ३ जना तारेखमा रिहा
बाजुरा: लाम्पाटा प्रकरणमा पेमागारा गुरुङलाई शरीर बन्धक बनाएको आरोपमा पक्राउ परेका हुम्लाका २१ जनामाथि जिल्ला अदालत बाजुराले फरक–फरक आदेश दिएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता/ सूचना अधिकारी नरेशबहादुर शाहीले २१ आरोपितमध्ये १० जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको बताए। यस्तै, ८ जनालाई जनही २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको तथा बाँकी ३ जनालाई साधारण तारेखमा छाड्ने आदेश भएको उनले बताए।
सोमबार भएको उक्त आदेशसँगै लाम्पाटा प्रकरणमा पक्राउ परेका आरोपितहरूको हकमा प्रारम्भिक न्यायिक प्रक्रिया टुंगिएको छ। घटनाको थप अनुसन्धान तथा मुद्दाको अन्तिम सुनुवाइ भने अदालतमा निरन्तर अघि बढ्नेछ।
यस प्रकरणले केही समययता व्यापक सार्वजनिक चासो पाएको थियो। अदालतको पछिल्लो आदेशपछि मुद्दाको न्यायिक प्रक्रिया थप स्पष्ट दिशातर्फ अघि बढेको छ