सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेश जाने मोह त्यागेर २४ वर्षीया आस्थाले सुरू गरिन् धनगढीमा रेष्टुरेन्ट व्यवसाय

२०८३ असार २९, ०३:४० खबर संवाददाता

धनगढी: धनगढीकी आस्था कुँवरले मन्चिज रेष्टुरेन्ट सञ्चालनमा ल्याएकी छन्। आइटीमा स्नातक २४ वर्षीया कुँवरले सोमबारदेखि धनगढी-८ मा रेष्टुरेन्ट सञ्चालनमा ल्याएकी हुन्।

सोमवार एक समारोहमा होटल व्यवसायी संघ कैलालीका महासचिव प्रजापति जोशी (प्रकाश) ले रेष्टुरेन्टको उद्घाटन गरेका हुन्। कार्यक्रममा अध्यक्ष केशवराज पाण्डेय र कुँवरका आफन्तहरूको समेत उपस्थिति रहेको थियो।

आस्था कुँवरले गत वर्ष मात्रै आइटीमा स्नातक उत्तीर्ण गरेकी हुन्। उनले विदेश जाने मोह त्यागेर आफ्नै ठाउँमा व्यवसाय गर्ने भन्दै लामो समयको काठमाडौँ बसाईलाई बिट मार्दै धनगढी फर्केको बताइन्। 'अहिले म जस्ता युवाहरू विदेश जान चाहन्छन्  तर मैले स्वदेशमै केही गर्नुपर्छ भने व्यवसाय गर्ने निधो गरेर धनगढी फर्किएकी हुँ,' उनले भनिन्, 'आफ्नो ठाउँबाट काम गर्न सजिलो हुन्छ भनेर स्वादार्थ नामक कम्पनी खोलेर उक्त कम्पनी मातहतमा मन्चिज रेष्टुरेन्ट सञ्चालनमा ल्याएकी छु।'

विदेश जानुभन्दा स्वदेशमै काम गर्ने भनेर जन्मथलो धनगढीबाट स्वादार्थ फुड्स एण्ड अर्गानिक प्रालि खोलेर खाद्य परिकारहरू फ्रोजन म:म, विभिन्न अचारहरू, चिली वइल (खुर्सानीको तेल) उत्पादन गर्दै देशभरि बिक्रीवितरण गर्ने योजना बनाएको कुँवरले बताइन्। 

धनगढी-८ स्थित सहिद गेट-क्याम्पस चोक सडकको शिवनगर पुल नजिकै खुलेको रेष्टुरेन्टमा विभिन्न प्रकारको म:म सुपथ मूल्यमा उपलब्ध हुने उनले बताइन्।

'हामीले आफैले तयार गरेको फ्रोजन म:म र अचारहरू बाहिर बिक्री गर्ने सोच बनाएका छौँ भने रेष्टुरेन्टमा सुपथ मूल्यमा भेज, पनिर, चिकेन लगायत कोदो, फापर र मकैको म:म उपलब्ध हुन्छ,' उनले भनिन्, 'हाम्रोमा अजिना मोटो नहालेको भेज म:म १३० रुपैयाँ, चिकेन म:म १६० रुपैयाँ, पनिर म:म १८० रुपैयाँ, फ्रेन्च फ्राइज १५० रुपैयाँ र चिकेन ससेज ६० रुपैयाँमा उपलब्ध हुन्छ।'

आफ्नो जन्मस्थलमै केही गर्नुपर्छ भनेर व्यवसाय सुरू गरेको बताउने कुँवरले अहिले दुई जना महिलालाई रोजगार दिएकी छन्। उनले व्यवसाय बढाउँदै लैजाने र समस्यामा परेका महिलाहरूलाई आफैंले तालिम दिएर रोजगारीमा लगाउने बताइन्।

'अहिले दुई जना एकल महिलाहरूलाई तालिम दिएर रोजगारी दिएका छौँ भने घरका सदस्यको सहभागितामा काम भइरहेको छ,' उनले भनिन्, 'आफ्नो उत्पादन देशभर बिक्रीवितरण गर्ने योजना रहेकाले हामी अन्य महिलाहरूलाई समेत अवसर दिएर, उहाँहरूलाई पछि आफ्नै व्यवसाय गर्न सकून भन्ने हिसाबले काममा लगाउने योजना छ।'

विद्यार्थीहरूलाई लक्षित गरेर रेष्टुरेन्ट सञ्चालनमा ल्याएको बताउने कुँवरले करिब १२ लाखको लगानीमा व्यवसाय सुरू गरेकी हुन्। उनले आफ्नो रेष्टुरेन्टको शाखा अन्यत्र पनि खोल्ने योजना रहेको बताइन्।  कुँवरले स्वदेशमै काम गर्दा पनि आफ्नै जन्मथलोमा सहज हुने भएकाले काठमाडौँबाट धनगढी फर्केर व्यवसाय सुरू गरेको बताइन्।

कमेन्ट लोड गर्नुस