सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीलाई लागुऔषध नियन्त्रण उपकरण हस्तान्तरण

२०८३ असार २९, ०१:४५ रासस

महेन्द्रनगर: कञ्चनपुर उद्योग वाणिज्य सङ्घले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई लागुऔषध नियन्त्रणका लागि आवश्यक चेकजाँच उपकरण हस्तान्तरण गरेको छ।
 
वाणिज्य सङ्घमा आज आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइराला र सङ्घका अध्यक्ष दिनेश मल्लले प्रहरीलाई ती उपकरण, पाँच थान साइकल, टर्चलाइटलगायतका सामग्री हस्तान्तरण गरे।

त्यसअवसरमा प्रमुख जिल्ला अधिकारी कोइरालाले समुदायको सुरक्षा र लागुऔषधविरुद्धको अभियानमा निजी क्षेत्रको सहभागिता प्रशंसनीय रहेको जनाउँदै हस्तान्तरण गरिएका सामग्रीले प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

कञ्चनपुरका प्रहरी प्रमुख नेत्रमणि गिरीले प्रहरीलाई प्राप्त उपकरणले लागुऔषधविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने हुँदा यस्ता कार्यमा समाजका सबै पक्षको सहयोगको अपेक्षा गरिएको बताए।
 
सङ्घका अध्यक्ष दिनेश मल्लले युवापुस्ता लागुऔषधमा फसेकाले यसको नियन्त्रणका लागि सबैले सामाजिक उत्तरदायित्वअन्तर्गत सुरक्षा निकायसँग सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले भने, “शान्ति, सुरक्षा र लागुऔषधमुक्त समाज निर्माणमा सङ्घले निरन्तर सहयोग गर्ने छ।” सङ्घले प्रहरीलाई लागुपदार्थ सेवन चेकजाँचका लागि मासिक रुपमा १०० कीट प्रदान गर्ने समेत जनाएको छ।

कमेन्ट लोड गर्नुस