बझाङ जिप दुर्घटना: उकालो घुम्तीमा चढाउन नसक्दा दुर्घटना
धनगढीः शनिबार दिउँसो बझाङको केदास्युँ गाउँपालिका–७ मा सुपप्र०१००१ च २६६४ नम्बरको जिप दुर्घटनाको मुख्य कारण कच्ची सडकमा क्षमताभन्दा बढि यात्रु बोक्नु भएको खुलेको छ।
ट्राफिक प्रहरीकाअनुसार वर्षा भइरहेका बेला कच्ची सडकमा क्षमताभन्दा बढि यात्रु बोकेर दुर्घनाग्रस्त जिप गन्तव्यतिर हिँडेको थियो।
जिपमा चालकसहित १६ जना सवार थिए। बुंगलबाट दुर्गाथलीतर्फ गइरहेको उक्त जिप खसेको ठाउँमा उकालोमा घुम्ती रहेको छ। एकातिर वर्षाले हिलाम्मे सडक र अर्कोतिर क्षमताभन्दा बढी यात्रु भएर लोड धान्न नसकेर जिप उकालो चढ्न नसक्दा पछाडि गर्ने क्रममा खसेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
चालकले उकालोमा जिप रोकेर पछाडि गर्ने क्रममा घुम्ती कटाउने प्रयास गरे पनि पछाडि सरेको जिप भिरालो जमिनतिर खसेपछि दुर्घटना भएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले प्रारम्भिक अनुसन्धानबाट उकालोमा घुम्ती कटाउन खोज्दा जिप नचढेर चिप्लिएपछि भीरालो जमिनतिर खस्न पुगेको जानकारी दिएका छन्।
उनकाअनुसार दुर्घटनाबारे थप अनुसन्धान भने जारी रहेको छ। जिप दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ७ जना गम्भीर घाइते भएका छन्। जिप चालक देवेन्द्र धामी पनि गम्भीर घाइते छन्।
गम्भीर घाइते अवस्थाका ७ जनालाई आइतबार नेपाली सेनाको हेलीकप्टरमार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो।
उनीहरु मध्ये ५ जनाको नेपालगञ्जमै उपचार भइरहेको छ भने चालक धामी र दुर्गाथलीका रामबहादुर महतलाई थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर लगिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले जानकारी दिएका छन्।
स्थानीय तहहरुले अन्धाधुन्ध खनेका ग्रामणी सडकका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा बर्सेनि सयौँ मानिसले सवारी दुर्घटनामा अकलमै ज्यान गुमाउनुुपरेको छ।