सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोपाइँ सकियो, मल आएन: कैलाली–कञ्चनपुरका किसान डीएपी अभावले चिन्तित

२०८३ असार २८, ०१:२५ लक्ष्मण ढुङ्गाल

धनगढी: कैलाली र कञ्चनपुरका किसानले धान रोपाइँ सम्पन्न गरिसक्दा पनि आवश्यक रासायनिक मल नपाउँदा उत्पादनमा असर पर्ने चिन्ता व्यक्त गरेका छन्। धान रोपेको १५ दिनभित्र डीएपी मल प्रयोग गर्नुपर्ने कृषि प्राविधिकको सुझाव रहे पनि अधिकांश किसान अझै मलको पर्खाइमै छन्।

यस वर्ष विशेषगरी डीएपी मलको अभाव चर्किएको किसानहरूको गुनासो छ। किसानहरूका अनुसार डीएपी मलको प्रयोग नगर्दा धानको बोट राम्रोसँग नसप्रिने र उत्पादन घट्ने जोखिम बढ्छ। अघिल्ला वर्षहरूमा भारतबाट एक–दुई बोरा मल ल्याएर आवश्यकता पूरा गर्ने गरे पनि सीमा नाकाबाट मल ल्याउन रोक लगाएपछि समस्या झन् जटिल बनेको उनीहरूको भनाइ छ।

किसानहरूले सरकारले समयमै मल उपलब्ध गराउन नसक्दा खेती नै जोखिममा परेको बताएका छन्। रोपाइँ सकिए पनि मल नपाउँदा उत्पादन घट्ने र त्यसको प्रत्यक्ष असर खाद्य सुरक्षामा पर्ने उनीहरूको चिन्ता छ।

सरकारी तथ्यांकअनुसार कैलालीमा मात्रै धान खेतीका लागि वार्षिक करिब ३५ हजार मेट्रिक टन मल आवश्यक पर्छ। सुदूरपश्चिम प्रदेशभर वार्षिक करिब ५५ हजार मेट्रिक टन युरिया र ३५ हजार मेट्रिक टन डीएपी आवश्यक पर्ने अनुमान छ। कैलाली जिल्लामा मात्रै वार्षिक २२ हजार मेट्रिक टन डीएपी खपत हुने सरकारी तथ्यांक छ।

यस वर्ष धान खेतीका लागि साल्ट ट्रेडिङ धनगढीमा १ हजार ८९५ मेट्रिक टन युरिया र २ हजार ९०७ मेट्रिक टन डीएपी प्राप्त भएको छ।
मल वितरणको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेड सुदूरपश्चिम प्रादेशिक कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि कम्पनीलाई १७ हजार ७० मेट्रिक टन युरिया र १२ हजार १८५ मेट्रिक टन डीएपी आपूर्तिको लक्ष्य दिइएको छ।

हाल धनगढी डिपोमा ३३०.६ मेट्रिक टन युरिया र ३०६ मेट्रिक टन डीएपी मौज्दात रहेको छ भने महेन्द्रनगर डिपोमा २२० मेट्रिक टन युरिया र ११० मेट्रिक टन डीएपी रहेको कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षमा धनगढीबाट १५ हजार ३२७ मेट्रिक टन र महेन्द्रनगरबाट ४ हजार ७२७ मेट्रिक टन युरिया बिक्री भइसकेको छ। त्यसैगरी धनगढीबाट ८ हजार ३०० मेट्रिक टन र महेन्द्रनगरबाट २ हजार ३५७ मेट्रिक टन डीएपी बिक्री गरिएको कम्पनीको तथ्यांकमा उल्लेख छ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार यस वर्ष इरान–अमेरिका द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारबाट रासायनिक मलको आपूर्ति प्रभावित भएकाले मागअनुसार मल उपलब्ध गराउन कठिनाइ भएको हो।

धानको मुख्य सिजनमै मल अभाव भएपछि उत्पादनमा नकारात्मक असर पर्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन्। समयमै मलको व्यवस्था गर्न नसकिए आगामी धान उत्पादनमा कमी आउने र त्यसको असर बजारसम्म पुग्ने उनीहरूको चेतावनी छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस