प्रहरी हिरासतबाट फरार लागुऔषध मुद्दाका अभियुक्त टीकापुरबाट पक्राउ
धनगढीः लागुऔषध (खैरो हेरोइन) सम्बन्धी मुद्दामा पक्राउ परेर अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट फरार भएका कैलालीको टीकापुर नगरपालिका–२, राजीपुरका ३१ वर्षीय संजय नगार्जी पुनः पक्राउ परेका छन्।
नगार्जीलाई गत असार ९ गते पक्राउ गरी अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको थियो। तर, उनी असार २१ गते राति करिब १२ बजे हिरासतबाट फरार भएका थिए।
फरार भएपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले खोजतलासलाई तीव्र बनाएको थियो। सोही क्रममा असार २५ गते बिहान १०:१५ बजे टीकापुर नगरपालिका–४ स्थित अस्नेरी चोक क्षेत्रबाट उनलाई पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ।