गत वर्षको तुलनामा १२.६२ प्रतिशतले रोपाइँमा कमी
काठमाडौँः मौसमको प्रतिकूलताका कारण यसवर्ष देशभर धान रोपाइँ गत वर्षको तुलनामा १२ दशमलव ६२ प्रतिशतले कमी आएको छ। गत वर्ष ४५ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ३२.३८ प्रतिशत रोपाइँ भएको हो।
सोमबारसम्म देशभर चार लाख ४३ हजार ५९५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो । उहाँका अनुसार रोपाइँ हुने क्षेत्रफल १३ लाख ७० हजार ६२ हेक्टर हो।
सुदूरपश्चिम प्रदेशमा ५७ दशमलव नौ, गण्डकीमा ४१, कर्णालीमा ४० दशमलव पाँच, लुम्बिनीमा ३७ दशमलव तीन, बागमतीमा ३३ दशमलव दुई, कोशीमा ३१ दशमलव पाँच र मधेस प्रदेशमा १५ दशमलव छ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ।
जलवायु परिवर्तनको असरले समयमा मनसुन सक्रिय नभएकाले रोपाइँमा कमी आएको भए पनि देशका अधिकांश ठाउँमा वर्षा भएपछि रोपाइँमा सुधार आउने महानिर्देशक सञ्जेलले बताए।
धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिए पनि मधेस प्रदेशमा १५ दशमलव ६ प्रतिशत मात्र रोपाइँ भएकाले धान उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको उनको भनाइ छ। सो क्षेत्रबाट धानको उत्पादकत्व वृद्धि भई कुल उत्पादनको ७० प्रतिशत योगदान रहेको छ भने पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको जनाइएको छ।