सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘ब्लू बस’ भन्दा सोच परिवर्तन आवश्यक: कुलमान घिसिङ

२०८३ असार २०, ०४:०० खबर संवाददाता

काठमाडौँः उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले शासकीय सुधारसम्बन्धी सय दिने कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सरकारद्वारा अघि सारिएको ‘नीलो बस’ सञ्चालन योजनाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।

यस योजनाका लागि साझा यातायातका बस प्रयोग गरिने चर्चा चलिरहेको सन्दर्भमा घिसिङले महिलाको सुरक्षित यात्राका लागि विशेष व्यवस्था गर्नु सकारात्मक कदम भए पनि साझाको हरियो पहिचान परिवर्तन गर्न खोज्नु उपयुक्त नभएको बताए।

उनका अनुसार साझा यातायातले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्दै हरित र दिगो सार्वजनिक यातायातको सन्देश दिन वर्षौंदेखि अपनाउँदै आएको हरियो पहिचान रङ परिवर्तन गरेर कमजोर बनाइनु हुँदैन। हरियो रङ केवल रङ मात्र नभई वातावरणमैत्री सार्वजनिक यातायातप्रतिको प्रतिबद्धताको प्रतीक र हरेक क्षेत्रलाई हरित बनाउने राष्ट्रिय सङ्कल्पसमेत भएको उनले स्पष्ट पारे।

महिलाका लागि निःशुल्क वा विशेष बस सञ्चालन गर्नु स्वागतयोग्य पहल भए पनि वास्तविक समाधान भनेको महिलाले जुनसुकै सार्वजनिक यातायात प्रयोग गर्दा पनि पूर्ण रूपमा सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नु रहेको घिसिङको भनाइ छ। महिलाको सुरक्षा कुनै एउटा निलो बसमा मात्र सीमित नभई सम्पूर्ण सार्वजनिक यातायात प्रणाली नै सुरक्षित, मर्यादित र महिलामैत्री बन्नुपर्नेमा उनले जोड दिए।

रङ परिवर्तनभन्दा सोच परिवर्तन आवश्यक रहेको औँल्याउँदै घिसिङले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गरी सार्वजनिक यातायातलाई सबैका लागि सुरक्षित, सम्मानजनक र विश्वासयोग्य बनाउनु नै सरकारको प्राथमिकता हुनुपर्ने धारणा राख्नुभएको छ। त्यस्तो अवस्थामा मात्र महिलाको समान सहभागिता र सुरक्षित जीवनयापनको वास्तविक सुनिश्चितता हुने उनको ठहर छ।

कमेन्ट लोड गर्नुस