सुदूर नेपाललाई विश्वसँग जोड्दै

जानकी गाउँपालिकाद्वारा १७ जना आरन व्यवसायीलाई आधुनिक उपकरण वितरण

२०८३ असार १९, ०५:१२ खबर संवाददाता

कैलाली: जानकी गाउँपालिकाले परम्परागत आरन व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै व्यवसायीको उत्पादन क्षमता वृद्धि तथा आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले १७ जना आरन व्यवसायीलाई आधुनिक उपकरण वितरण गरेको छ।

गाउँपालिकाको आर्थिक सहयोगमा सबै ९ वटै वडाका १७ जना आरन व्यवसायीलाई इलेक्ट्रिक ब्लोर पंखा र ग्राइन्डर मेसिन प्रदान गरिएको हो। गाउँपालिका अध्यक्ष गणेश चौधरीले उपाध्यक्ष लालमति देवी कठरिया तथा कार्यपालिका सदस्यहरूको उपस्थितिमा सामग्री हस्तान्तरण गरेका हुन्।

सामग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष चौधरीले स्थानीय सीप, कला र परम्परागत पेशाको संरक्षण गर्दै आधुनिक प्रविधिसँग जोड्नु गाउँपालिकाको प्रमुख प्राथमिकता रहेको बताए। उनले आरन व्यवसायीलाई आधुनिक उपकरण उपलब्ध गराउँदा श्रम र समयको बचत हुनुका साथै उत्पादनको गुणस्तर र क्षमता वृद्धि भई व्यवसायीको आम्दानी बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

अध्यक्ष चौधरीले गाउँपालिकाले स्थानीय उद्यम, स्वरोजगार प्रवर्द्धन तथा आर्थिक सशक्तीकरणलाई केन्द्रमा राखेर विभिन्न उत्पादनमूलक कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए। उनले वितरण गरिएका उपकरणको प्रभावकारी सदुपयोग गर्दै व्यवसायलाई थप विस्तार गर्न व्यवसायीहरूलाई आग्रह समेत गरे।

उपकरण प्राप्त गरेका व्यवसायीहरूले आधुनिक सामग्रीको प्रयोगबाट काम गर्न सहज हुने, उत्पादन क्षमता बढ्ने तथा आम्दानीमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्। गाउँपालिकाले परम्परागत पेशाको संरक्षणसँगै स्थानीय उद्यमलाई प्रवर्द्धन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुर्‍याउने लक्ष्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

कमेन्ट लोड गर्नुस