सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीमती हत्या प्रकरण: ‘नेपाली ब्रो’ कुमार थापा र प्रेमिका कारागार चलान

२०८३ असार १८, ०६:४९ खबर संवाददाता

काठमाडौं :श्रीमती हत्या प्रकरणमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ।

न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले दुवैलाई थुनामा राखेर मुद्दाको सुनुवाइ अघि बढाउने आदेश दिएको हो। अदालतको आदेशपछि उनीहरूलाई कारागार पठाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यसै प्रकरणमा पक्राउ परेका कुमार थापाका भाइ विक्रम थापा मगर र उनका साथी पुजन थापा क्षेत्रीलाई भने जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

प्रहरीका अनुसार, नेपाली सेनामा सुवेदार पदमा कार्यरत कुमार थापाकी श्रीमती ईश्वरी भुजेलको हत्या भएपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा ३८ वर्षीय कुमार थापा, उनकी २५ वर्षीया प्रेमिका प्रतीक्षा आचार्य, भाइ विक्रम थापा मगर र साथी पुजन थापा क्षेत्री पक्राउ परेका थिए।

अभियोजन पक्षले कुमार थापाविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १७७(१) अन्तर्गत हत्या सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ। प्रतीक्षा आचार्य, विक्रम थापा मगर र पुजन थापा क्षेत्रीविरुद्ध भने सोही कसुर गर्न दुरुत्साहन गरेको आरोपमा मुद्दा चलाइएको छ।

प्रहरी अनुसन्धानअनुसार, लामो समयदेखिको पारिवारिक विवाद, वैवाहिक सम्बन्धमा आएको तनाव तथा विवाहेत्तर सम्बन्धका कारण उत्पन्न विवाद अन्ततः हत्यासम्म पुगेको देखिएको छ। प्रहरीका अनुसार दम्पतीबीच यसअघि पनि विभिन्न विवाद र कानुनी मुद्दा चल्दै आएका थिए, जसले घटनाको पृष्ठभूमि तयार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

कमेन्ट लोड गर्नुस