सुदूर नेपाललाई विश्वसँग जोड्दै

चार जिल्लाबाट लागुऔषधसहित पाँच जना पक्राउ

२०८३ असार १७, १०:५३ खबर संवाददाता

धनगढीः कैलालीसहित सुदूरपश्चिमका चार जिल्लाबाट अवैध लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१२ लम्साल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९५० मिलिग्रामसहित मंगलबार साँझ दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सोही स्थान बस्ने २८ वर्षीय निशान भण्डारी र १५ वर्षीय एक किशोर रहेका छन्। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यस्तै, कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–११ गड्डाचौकी होल्डिङ सेन्टर नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३०० मिलिग्रामसहित २९ वर्षीय अजय डगौरा पक्राउ परेका छन्। उनी बेतकोट नगरपालिका–७ बसन्तपुर निवासी हुन्। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले मंगलबार राति शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ बरामद गरेको हो।

उता, बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौरा स्थित मष्टा किराना पसलबाट ३५ ग्राम ७८० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थसहित ३२ वर्षीय बिमल कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले पसलमा खानतलासी गर्दा उक्त पदार्थ बरामद गरेको हो।

यसैगरी, डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका–१ मदुराडमा सञ्चालन गरिएको खुद्रा पसलबाट १७१ ग्राम ४६० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थसहित ४५ वर्षीय सन्तोष भण्डारी पक्राउ परेका छन्। प्रहरी चौकी पोखराबाट खटिएको टोलीले मंगलबार बेलुकी पसलमा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो।

चारै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस