सेती नदीको बीचभागमा फसेका ११ जनाको सकुशल उद्धार
धनगढीः डोटीको दिपायल सिलगढी नगरपालिका–२ स्थित सेती नदीको बीचभागमा फसेका ११ जनाको सकुशल उद्धार गरिएको छ। शनिबार सशस्त्र प्रहरी बल नेपाल ३६ नम्बर गणको टोली, इलाका प्रहरी तथा स्थानीयवासीको सहयोगमा उनीहरूको उद्धार गरिएको हो।
स्थानीयहरू सेती नदीस्थित शिव मन्दिरमा पूजा गर्न गएका बेला तटबन्ध निर्माणका लागि बाँधिएको अस्थायी बाँध अचानक फुटेपछि उनीहरू नदीको बीचभागमा फसेका थिए। पानीको बहाव बढेपछि उनीहरू बाहिर निस्कन नसक्ने अवस्थामा पुगेका थिए।
सशस्त्र प्रहरी बल नेपाल नं. ३६ गण डोटीबाट खटिएको टोलीले रबर बोटको प्रयोग गरी जोखिमपूर्ण अवस्थामै उद्धार गरेको सशस्त्र प्रहरी उपरीक्षक शिवप्रसाद गैह्रेले जानकारी दिए।
उद्धार गरिएकामध्ये दिपायल सिलगढी–२ का ८६ वर्षीय मोहन पाठक, ७६ वर्षीय प्रेमबहादुर कठायत, ७० वर्षीय शिवराज कठायत र ६९ वर्षीय बालुराम कठायत रहेका छन्। यस्तै ७४ वर्षीय हेमराज जोशी, ६५ वर्षीय बाटु कठायत, ८० वर्षीय पदमराज भट्ट, ६० वर्षीया संजा श्रेष्ठ, ३८ वर्षीय दीपकराज पाठक, नौ वर्षीय कृष्ण कठायत र ६ वर्षीय ब्रण्डन कठायतको पनि सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।