सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओली–प्रचण्ड, खनाल र नेपाल एउटै मञ्चमा देखिने

२०८३ असार १४, ०८:१९ खबर संवाददाता

काठमाडौँः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एकै सार्वजनिक कार्यक्रममा सँगै देखिने भएका छन्। मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम तय भएको छ।

आज असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना हुने ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा ओली र प्रचण्डसँगै अन्य प्रमुख कम्युनिस्ट नेताहरूको पनि सहभागिता रहनेछ। कार्यक्रममा माधवकुमार नेपाल, झलनाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम छ।

पछिल्लो समय फरक–फरक राजनीतिक धारमा रहेका प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा देखिन लागेकाले यो गोष्ठीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। मदन भण्डारीको राजनीतिक विचार, योगदान र कम्युनिष्ट आन्दोलनमा उनको भूमिकामाथि केन्द्रित रहेर शीर्ष नेताहरूले धारणा राख्ने कार्यक्रम रहेको छ।

यसअघि १२ असारमा विराटनगरमा आयोजित एक कार्यक्रममा प्रचण्डले ‘समाजवादी मोर्चामा रहेका शक्तिहरूसँग छिट्टै एकता र एमालेसँग सहकार्य’ हुन सक्ने संकेत दिएका थिए। सोही अभिव्यक्तिपछि आजको कार्यक्रमलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।

कमेन्ट लोड गर्नुस