आठ विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया तीव्र, आजदेखि सर्टलिस्ट उम्मेदवारको अन्तर्वार्ता सुरु
काठमाडौँ: त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पदका लागि सर्टलिस्टमा परेका उम्मेदवारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण आजदेखि सुरु भएको छ। विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिले पूर्वनिर्धारित कार्यतालिकाअनुसार तीनवटै विश्वविद्यालयका उम्मेदवारको मूल्याङ्कन प्रक्रिया समानान्तर रूपमा अघि बढाएको हो।
उच्च शिक्षामा गुणस्तरीय सुधार, विश्वविद्यालयको संस्थागत सुदृढीकरण तथा सक्षम, दूरदर्शी र परिणाममुखी नेतृत्व चयन गर्ने उद्देश्यले सञ्चालन गरिएको यस प्रक्रियाले विश्वविद्यालय प्रशासनमा योग्यता, उत्तरदायित्व र उत्कृष्टताको संस्कृतिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
छनोट प्रक्रियालाई पारदर्शी, निष्पक्ष र वस्तुनिष्ठ बनाउन प्रत्येक अन्तर्वार्ता प्यानलमा सम्बन्धित विषयका विज्ञ तथा उपकुलपति छनोट तथा सिफारिस समितिका सदस्यको सहभागिता सुनिश्चित गरिएको छ। साथै, प्रत्येक विश्वविद्यालयका लागि छुट्टाछुट्टै विज्ञ प्यानल गठन गरी मूल्याङ्कनलाई व्यवस्थित र प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ।
समितिका अनुसार बाँकी पाँच विश्वविद्यालयका उपकुलपति पदका लागि सर्टलिस्टमा परेका उम्मेदवारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण भोलि र पर्सि सम्पन्न हुनेछ। यससँगै आठवटै विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया निर्धारित समयसीमाभित्र पूरा हुने अपेक्षा गरिएको छ।
‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार पहिलो पटक एकीकृत प्रक्रियाबाट उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको हो। सरकारले गत वैशाख २४ गते त्रिभुवन विश्वविद्यालयसहित आठ विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरेको थियो। जेठ १३ गते बसेको सिफारिस समितिको बैठकले योग्य आवेदकको आवेदन स्वीकृत गरी अध्ययन–अनुसन्धानको मूल्याङ्कनपछि सर्टलिस्ट तयार गरेको थियो।
सर्टलिस्टमा परेका उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्तापछि विज्ञबाट प्राप्त अङ्कका आधारमा सिफारिस समितिले उपकुलपतिका लागि नाम छनोट गरी कुलपतिसमक्ष सिफारिस गर्नेछ।