बाजुरामा प्रहरीको सक्रियता: समयमै उद्धार हुँदा बिरामीको ज्यान बच्यो
बाजुराः बाजुरा जिल्लाको हिमाली गाउँपालिका–१ बिच्छियाका स्थानीय नलधन थापा (प्रधान) एक्कासी पेटसम्बन्धी गम्भीर स्वास्थ्य समस्याबाट पीडित भएपछि नेपाल प्रहरीले समयमै उद्धार गरी उनको ज्यान बचाएको छ।
बिरामीको अवस्था जटिल बन्दै गएपछि स्थानीय प्रहरी चौकी बिच्छियामा कार्यरत प्रहरी कर्मचारीहरूले तत्काल मानवीय जिम्मेवारी बहन गर्दै उद्धार कार्य अघि बढाएका थिए। प्रहरी टोलीले थापालाई सुरक्षित र छिटो तवरले कोल्टी अस्पताल, बाजुरा पुर्याई आवश्यक उपचारको व्यवस्था मिलाएको हो।
समयमै गरिएको उद्धार तथा समन्वयका कारण बिरामीको अवस्था नियन्त्रणमा आएको र ज्यान जोगिन सफल भएको बाजुरा प्रहरीले जनाएको छ।
यस घटनाले नेपाल प्रहरी नागरिकको शान्ति–सुरक्षासँगै आपत्, विपत् तथा मानवीय संकटका बेला जीवन रक्षा गर्न सदैव तत्पर रहेको स्पष्ट सन्देश दिएको छ। 'प्रहरी मेरो साथी' भन्ने नारालाई व्यवहारमा उतार्दै नेपाल प्रहरी नागरिक सेवामा निरन्तर समर्पित रहँदै आएको भन्दै स्थानीयले प्रहरीको प्रशंसा गरेका छन्।