सेभेन एएम कप फुटसलको उपाधि टीकापुरको फोर्टीन जेआरलाई
धनगढीः कैलालीमा आयोजित खेल बजार सेभेन एएम कप फुटसल प्रतियोगिताको उपाधि टीकापुरको फोर्टीन जेआरले जितेको छ। फाइनल खेलमा आयोजक सेभेन एएमलाई पराजित गर्दै फोर्टीन जेआर च्याम्पियन बनेको हो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको फोर्टीन जेआरले नगद २५ हजार ५ सय ५५, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी उपविजेता बनेको आयोजक सेभेन एएमले नगद १५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी उत्कृष्ट खेलाडी टीकापुरका साहिल बिष्ट भए। उनले नगद २ हजार ५ सय ५५ ट्रफी प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट गोलरक्षक पनि टीकापुरकै रवी रावल भए । उनले नगद १ हजार ५ सय ५५ ट्रफी प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोक बहादुर खड्का रहेका थिए। उनले खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै यस्ता प्रतियोगिताले स्थानीय प्रतिभाको पहिचान र विकासमा सहयोग पुग्ने बताए।