सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिकको अपेक्षा अनुसार सेवा प्रवाह गर्न अर्थमन्त्रीको निर्देशन

२०८३ असार ८, ०७:११ खबर संवाददाता

मकवानपुरः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैङ्क तथा वित्तीय संस्थाले आमनागरिकको अपेक्षा अनुसारको सेवा प्रवाह गर्नुपर्ने बताएका छन्।

नेपाल बैङ्क लिमिटेड बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौँडा शाखाको नवनिर्मित भवनको आइतबार उद्घाटनका क्रममा मन्त्री वाग्लेले नयाँ प्रादेशिक कार्यालयको नयाँ भवनपरिसरबाट फरक ढङ्गले सेवाग्राहीलाई सेवा सुविधा दिनुपर्ने बताए। उनले नेपाल आधुनिकीकरणतर्फ कदम चाल्दै गर्दा पहिलो बैङ्कका रूपमा स्थापना भएको नेपाल बैङ्क विभिन्न आरोहअवरोह पार गर्दै अहिलेको अवस्थासम्म आइपुगेको बताए। बैङ्कले आधुनिक भवनबाट आफ्ना सेवाग्राहीलाई आधुनिक सेवा प्रदान गर्नुपर्नेमा उनले जोड दिए। 

राणाकालीन भाषा र त्यतिबेलाको इतिहास अनुसार ‘नेपाली जनताको बढिया गर्न’ भनेर लेखिएको स्मरण गर्दै उनले भने, “हेटौँडाको पनि पुरानो इतिहास र बैङ्कले हेटौँडामा २०२५ सालदेखि कारोबार सुरु गरेको पाइयो, गौरवगाथा बोक्ने पुराना सम्पदाको हामीले सम्मान गर्नु पर्छ।” उहाँले बैङ्क प्रशासनलाई नागरिकलाई प्रदान गर्ने सेवा सुविधालाई सुदृढ गर्दै जान आग्रह गरे। फरक प्रसङ्गमा मन्त्री वाग्लेले हेटौँडाको सडक विस्तार र भौतिक पूर्वाधारको विषय अदालतमा विचाराधीन रहेको भन्दै सडक विस्तारमा सरकारले निकास दिन सहजीकरण गर्ने बताए। 

हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले सेवाग्राहीले उत्पादनसँग जोडेर जान चाहने क्षेत्रमा बैङ्कले काम गर्नुपर्ने भन्दै बैङ्कले गरिबलाई सरकार छ भन्ने अनुभूति दिलाएर काम गर्न विशेष कार्यक्रम लागु गर्नु अहिलेको आवश्यकता भएको बताए। उनले नेपाल बैङ्कप्रति विश्वास र भरोसा रहेको भन्दै नयाँ रणनीतिका साथ काम गर्न आग्रह गरे। बैङ्कका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नयाँ सरकारका सयबुँदे कार्यक्रम समेटेर र सरकारको आगामी आर्थिक वर्षको बजेटलाई समेत एकाकार गरेर कार्यक्रम अगाडि बढाएको भन्दै विगतको तुलनामा बैङ्कको सेवा सुविधामा सुधार आएको बताए। 

उहाँले बैङ्कले नयाँ प्रविधि ल्याउन नेपाल सरकारका नीतिका कारण खरिद प्रक्रिया सुस्त रहेका कारण समस्या देखिएको बताए। कार्यक्रममा बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदसिंह रानाभाटले बैङ्कको सेवाबारे बोलेका थिए। सिटी अफिस हेटौँडा शाखाको नवनिर्मित अन्डर ग्राउन्डसहित तीनतले भवन चार करोड ७२ लाख रुपियाँको लागतमा निर्माण गरिएको हो।    

कमेन्ट लोड गर्नुस