सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिका–इरानबीच युद्ध अन्त्यको प्रारम्भिक सम्झौता, स्ट्रेट अफ हर्मुज खोल्ने सहमति

२०८३ असार ४, १२:१२ रासस

अमेरिका र इरानबीच जारी तनाव तथा सैन्य द्वन्द्व अन्त्य गर्ने उद्देश्यले प्रारम्भिक शान्ति सम्झौतामा हस्ताक्षर भएको दाबी गरिएको छ। बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेस्कियनले डिजिटल माध्यमबाट समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

समाचारअनुसार, जी–७ राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन फ्रान्स पुगेका ट्रम्पले प्यालेस अफ भर्साइल्समा फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंसँगको भेटअघि उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौताअन्तर्गत दुवै पक्षले तत्काल युद्धविराम लागू गर्ने तथा विश्वको महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा ल्याउने सहमति गरेको बताइएको छ।

हस्ताक्षरपछि सम्झौताका मुख्य बुँदाहरू तत्काल कार्यान्वयनमा आएको दाबी गरिएको छ। यसअघि उक्त सम्झौतामा शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर गर्ने तयारी भए पनि दुवै पक्षबीच प्रक्रिया छिटो टुंग्याउने सहमति भएपछि हस्ताक्षर निर्धारित समयभन्दा अघि सम्पन्न भएको बताइएको छ।

कूटनीतिक स्रोतहरूका अनुसार इरान र अमेरिकाबीच स्ट्रेट अफ हर्मुज पुनः खोल्ने विषयमा सहमति जुटिसकेको थियो, जसका कारण सम्झौता छिटो कार्यान्वयनमा ल्याउने प्रयास गरिएको हो।

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पले सम्झौतामा हस्ताक्षर गरिरहेको भिडियो सार्वजनिक गर्दै यसले दीर्घकालीन शान्तिको आधार तयार गर्ने विश्वास व्यक्त गरेका छन्। भिडियोमा ट्रम्पले हस्ताक्षरपछि “यो प्रक्रिया सहज थिएन” भन्दै टिप्पणी गरेका छन्।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पनि अमेरिका र इरानका नेताहरूबीच समझदारीपत्रमा हस्ताक्षर भएको उल्लेख गरेका छन्। उनका अनुसार पहिलो चरणमा इरानले स्ट्रेट अफ हर्मुज तत्काल खोल्ने र अमेरिकाले आफ्नो नौसैनिक नाकाबन्दी हटाउने सहमति भएको छ।

यद्यपि, शुक्रबार स्विट्जरल्यान्डमा तय भएको अमेरिका–इरान प्रतिनिधिमण्डलबीचको वार्ता पूर्वनिर्धारित कार्यक्रमअनुसार नै हुने अपेक्षा गरिएको छ। उक्त बैठकमा अमेरिकी उपराष्ट्रपति जे.डी. भान्स र इरानी संसदका सभामुख मोहम्मद बाघेर घालिबाफ नेतृत्वको टोली सहभागी हुने बताइएको छ। वार्तामा मुख्य रूपमा इरानको आणविक कार्यक्रमसम्बन्धी विषयमा छलफल हुने स्रोतहरूले जनाएका छन्।
 

कमेन्ट लोड गर्नुस