सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा पुर्चौडी-६ को वडा कार्यालयमा तालाबन्दी

२०८३ असार १, ०१:५३ खबर संवाददाता

धनगढीः बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ६ को कार्यालयमा तालाबन्दी गरिएको छ। सडक निर्माण गर्नुपर्ने भन्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।

२०७६ सालदेखि निर्माण सुरू भएको वडा कार्यालय जोड्ने करिब ५ किलोमिटर सडक निर्माण सम्पन्न गर्नुपर्ने भन्दै जेठ २७ गते वडा कार्यालयमा तालाबन्दी गरिएको स्थानीय चक्रसिंह खडायतले बताए। उनले सडक निर्माणमा वडा र पालिकाले चाँसो नदेखाएको बताए।

प्रदेश सरकारको बजेटबाट निर्माणाधिन धम्ध्वा-खडायत गाउँ- वडा कार्यालय सडकमा खडायत गाउँकै स्थानीय गौरीलाल खडायतले अवरोध गर्दा सडक निर्माण रोकिएको स्थानीयले बताए। गौरीलालले सडकभन्दा माथि आफ्नो घर रहेकाले सडक खन्दा घरमा समस्या हुने भन्दै काममा अवरोध गर्दै आएका छन्।

सडक निर्माण गर्न अवरोध गर्ने स्थानीयलाई वडा कार्यालय तथा नगरपालिकाले सहमतिमा ल्याउन कुनै प्रयास नगरेको भन्दै खडायत गाउँकै ४७ जनाले वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।

यता, वडा अध्यक्ष नरेन्द्रबहादुर साउँदले सडक निर्माण गर्न अवरोध गर्दै आएका स्थानीयसँग छलफल भइरहेको बताए। उनले आफू अहिले धनगढी भए पनि कार्यवाहक अध्यक्षले छलफलका लागि आजै भेला बोलाएको बताए। 'सडक निर्माण गर्न एक जना स्थानीयले अवरोध गर्दै आएका छन्। उहाँसँग हामीले कुराकानी गर्छौँ। सहमतिमा नआए जिल्ला प्रशासन कार्यालय र नगरपालिकाको समन्वयमा काम अगाडि बढाउँछौँ', अध्यक्ष साउँदले बताए।

सडक निर्माणमा स्थानीयको अवरोधका कारण प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको २५ लाख रुपैयाँ फिर्ता हुने जोखिम बढेको छ। योभन्दा अगाडि पनि काम गर्न नसक्दा नगरपालिकाको १५ लाख बजेट फिर्ता भएको अध्यक्ष साउँदले बताए।
 

कमेन्ट लोड गर्नुस