सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैतन्य पाठशालामा बृहत् रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

२०८३ जेठ ३१, ०१:३२ खबर संवाददाता

धनगढीः सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै चैतन्य पाठशालाको आयोजनामा बृहत् रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। मानव सेवा नै सबैभन्दा ठुलो धर्म हो भन्ने भावनालाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा १४ जना रक्तदाताहरूले रक्तदान गरी जीवन बचाउने पुण्य कार्यमा योगदान दिएका छन्। पछिल्लो समय विभिन्न अस्पतालहरूमा रगतको अभाव भइरहेका बेला रक्तदाताहरूले दिएको रगतले बिरामीहरूको जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। रक्तदान गर्ने सबै रक्तदाताहरूको योगदानको उच्च कदर गर्दै उनीहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।

रक्तदान कार्यक्रमसँगै सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ६० भन्दा बढी व्यक्तिहरूले स्वास्थ्य परीक्षण सेवा लिएका थिए। शिविरमा सहभागीहरूलाई स्वास्थ्य अवस्था सम्बन्धी परामर्श, सामान्य स्वास्थ्य परीक्षण तथा आवश्यक सुझाव प्रदान गरिएको थियो । स्वास्थ्य परीक्षणबाट धेरै व्यक्तिहरूले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी प्राप्त गरेको चैतन्य पाठशालाकी स्कुल नर्स गायत्री उपाध्यायले बताइन्।

चैतन्य पाठशालाले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक सेवासँग सम्बन्धित यस्ता जनहितकारी कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ। विद्यालयले समाजसँगको सहकार्यलाई अझ बलियो बनाउँदै समुदायको हित र विकासका लागि थप रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए। 

मानव सेवाको उत्कृष्ट उदाहरणका रूपमा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविरले समाजमा सहयोग, सहकार्य र मानवताको भावनालाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ रहेको छ।

कमेन्ट लोड गर्नुस