सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा आँखा अस्पतालको आन्दोलन स्थगित, १२ बुँदे माग एक महिनाभित्र पूरा गर्नुपर्ने

२०८३ जेठ २९, ०१:३७ खबर संवाददाता

धनगढीः कैलालीस्थित गेटा आँखा अस्पतालमा जेठ १९ गतेदेखि जारी आन्दोलन स्थगित भएको छ। अस्पताल सङ्घर्ष समितिले उठाएका १२ बुँदे माग पूरा गर्ने प्रशासनको प्रतिबद्धतापछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको समितिले जनाएको हो।

शुक्रबार पत्रकार सम्मेलन गर्दै सङ्घर्ष समितिले अस्पताल प्रशासनसँग भएको सहमतिपछि आन्दोलन स्थगित गरिएको जानकारी दिएको छ।

आन्दोलनरत पक्षले अस्पतालभित्र राजनीतिक गतिविधि अन्त्य गर्नुपर्ने, स्वास्थ्यकर्मीहरूको सेवा सुविधा र बढुवा सुनिश्चित गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गर्दै आएको थियो। त्यस्तै दीर्घबहादुर चन्द, गोविन्द जोशी, रमेशचन्द्र भट्ट र राजबहादुर चौधरीलाई बर्खास्त गर्नुपर्ने माग पनि समितिले अघि सारेको थियो।

यस्तै अस्पताल व्यवस्थापन समितिमा अध्यक्षसहित ५० प्रतिशत स्थानीय सहभागिता सुनिश्चित गर्नुपर्ने, चिकित्सकहरूको तत्काल पदपूर्ति गर्नुपर्ने, वर्तमान व्यवस्थापन समितिका सदस्यहरूले राजीनामा दिनुपर्ने तथा कर्मचारीद्वारा हुने भनिएको गैरकानुनी ठेक्का प्रथाको अन्त्य गर्नुपर्ने माग पनि समेटिएका थिए।

सहमतिअनुसार यी सबै माग एक महिनाभित्र पूरा गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको समितिले स्पष्ट पारेको छ।

कमेन्ट लोड गर्नुस