सुदूरपश्चिम प्रदेशमा मनसुन दोस्रो प्रादेशिक मनसुन फोरम, मनसुन पूर्वतयारी पूरा
धनगढीः सुदूरपश्चिम प्रदेशमा मनसुन पूर्वतयारी पूरा भएको सरोकारवालाले जनाएका छन्।
जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले बिहीबार धनगढीमा आयोजना गरेको ‘दोस्रो प्रादेशिक मनसुन फोरम’ कार्यक्रममा सरोकारवाले पूर्वतयारी सम्पूर्ण रूपमा पूरा भएको बताएका हुन्। यो प्रदेशले हरेक वर्ष बाढीपहिरो, डुबान जस्ता मनसुनजन्य विपत्को सामना गर्दै आएको छ। त्यस्तो विपत्मा बर्सेनि जनधनको क्षति हुने गरेको छ।
मनसुनजन्य विपत्का घटनाबाट जोगिनका लागि पूर्वसूचना र पूर्वतयारी सबैभन्दा बढी आवश्यक रहेको सरोकारवालाको भनाइ छ। मनसुनका बेला विपत् पूर्वसूचना प्रवाहका लागि आफ्नो सबै सञ्जाललाई चुस्तदुरुस्त अवस्थामा राखेको जल तथा मौसम विज्ञान कार्यालयका प्रमुख इन्जिनियर सञ्जय साहले बताए। उनले मनसुन आपत्कालीन कार्ययोजना, २०८३ अनुसार काम भइसकेको बताए।
उनका अनुसार बाढीबारे सूचना दिनका लागि प्रदेशभर ३४ वटाभन्दा बाढी मापन केन्द्र स्थापना गरिएको छ। सबै बाढी मापन केन्द्रहरू स्वचलित छन् । यसै गरी ७६ वटा वर्षा मापन केन्द्र स्थापना गरिएकोमा ४२ वटा स्वचलित छन्। प्रदेशमा अझै २३ वटा बाढी मापन केन्द्र र ११÷१२ वटा वर्षा मापन केन्द्र स्थापना गर्न आवश्यक रहेको जनाइएको छ। प्रमुख साहले भन्नुभयो, “दुई वर्षअगाडि अध्ययन गर्दा बाढी मापन केन्द्र र वर्षा मापन केन्द्र थप्नुपर्ने देखिएपछि केही थप पनि भइसकेको छ।” जल तथा मौसम विज्ञान कार्यालयले मास एसएमएस पठाएर समुदायलाई बाढीको सूचना दिँदै आएको छ । यस वर्षदेखि आइभिआर र ‘सेल ब्रोडकास्ट’ सुरु गर्ने तयारी भइरहेको प्रमुख साहले बताए।
सामान्यतः जुन १३ मा नेपालमा मनसुनको प्रवेश हुने गरे पनि गत वर्ष मे २९ मै मनसुन आइपुगेको थियो । त्यसै गरी अक्टोबर २ मा मनसुन बाहिरिने तिथि रहेकोमा अक्टोबर १० मा मात्रै नेपालबाट बाहिरिएको थियो। नेपालमा मनसुन सरदर ११२ दिन रहने गर्छ। गत वर्ष १३५ दिनसम्म नेपालमा मनसुन रहेको जल तथा मौसम विज्ञान कार्यालयले जानकारी दिएको छ। यस वर्षको मनसुन अब छिट्टै नेपालमा भित्रिने भएकाले विपत् पूर्व, विपत्को बेला र विपत्पछि गर्नुपर्ने कार्यका लागि प्रदेश सरकार तयार रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन दाहालले बताए। उनले खोज उद्धारका लागि कृत्रिम घटनामा आधारित अभ्यासहरू पनि भइरहेको बताए।
सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना (एमपिआरपी) नै अद्यावधिक गरेन। एमपिआरपी बनाइए पनि कार्यकारी परिषद्बाट स्वीकृत हुन सकेन। यस वर्ष अहिलेदेखि नै तयारी भइरहेको जनाउँदै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपत् स्रोतव्यक्ति जनक धामीले असार पहिलो साता (मनसुन पुग्नु अगावै) एमपिआरपी स्वीकृत गरिने बताए। उनले मन्त्रालयले सञ्चार र व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी गरिरहेको बताए।
धामीले भने, “कैलालीको जिल्ला प्रशासन कार्यालय, धनगढी विमानस्थल र बैतडीको खोड्पेमा रहेको गोदाममा आवश्यक सामग्री मौज्दात छन्। आवश्यक थप सामग्री सहयोगी निकायसँग पनि छन्।” यसै गरी विभिन्न क्लस्टर हेर्दै आएका भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयका विपत् स्रोत व्यक्तिले पनि पूर्वतयारी पूरा भएको बताएका छन्। प्रदेशका नौ वटै जिल्लामा खाद्य व्यापार कम्पनी लिमिटेडले खाद्यान्न मौज्दात राखेका जनाइएको छ।
यस्तै नेपाली सेनाले पनि सम्पूर्ण रूपमा तयार रहेको जनाएको छ। नेपाली सेनाका प्रमुख सेनानी निर्मल थापाले विपत्पूर्व, विपत्का बेला र विपत्पछि तिनै चरणमा नेपाली सेनाले अरू सुरक्षा निकायसँग समन्वय गरेर काम गर्दै आएको उल्लेख गरे। उनले कार्य सञ्चालनका लगि स्थानीय तहसम्मै नेपाली सेनालाई निर्देशन दिइसकेको उल्लेख गर्दै भने, “उद्धारका लागि हेलिकोप्टर सुर्खेतमा तयारी अवस्थामा छ। टेन्ट, रासन व्यवस्थापनका लागि पनि आदेश दिइसकेका छौँ।”