ओमानको खाडीमा अमेरिकी सैन्य आक्रमणमा परेर ३ जना भारतीयको ज्यान गयाे
हर्मुज जलमार्ग नजिकै ओमानको खाडीमा अमेरिकी सैन्य आक्रमणमा परेर ३ जना भारतीय नागरिकको ज्यान गएको छ । तेल ट्याङ्करमा भएको मिसाइल आक्रमणमा परेर हराएका तीनै जनाको शव फेला परेको भारतका बन्दरगाह तथा ढुवानी मन्त्री सर्बानन्द सोनोवालले जानकारी दिए।
अमेरिकी आक्रमणमा परेका भारतीयहरूलाई ओमानी सेनाले उद्धार गरेको थियो । यस घटनापछि भारत सरकारले नयाँ दिल्लीमा रहेको अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर कडा आपत्ति जनाएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार पलाउको झण्डा बोकेको ट्याङ्करले इरानबाट तेल ढुवानी गरेर नाकाबन्दी उल्लङ्घन गरेकाले पटक–पटक चेतावनी दिएर पनि चालकदलले बेवास्ता गरेपछि आक्रमण गरिएको हो ।
फारस खाडी र ओमानको खाडीलाई जोड्ने एउटा साँघुरो पानीको बाटो हो नै हर्मुज जलमार्ग हो । यो संसारको सबैभन्दा महत्त्वपूर्ण तेल आपूर्ति मार्गहरूमध्ये एक हो ।
गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि हर्मुज जलमार्गमा तनाव उत्पन्न भएको छ । अप्रिलमा दुवै पक्ष युद्धविराममा सहमत भए पनि पुनः सैन्य तनाव बढ्दो क्रममा रहेको छ ।
अमेरिकाले अप्रिल १३ देखि इरानी बन्दरगाहहरूको नाकाबन्दी शुरू गरेकोमा अहिले थप आक्रमण जारी राखेको छ ।