सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्याउ फल्न छाडेपछि सतबाँझ हिउँदे फलफूल विकास केन्द्रमा रूपान्तरण

२०८३ जेठ २५, ०५:२६ खबर संवाददाता

बैतडी: कुनै समय लटरम्म स्याउ फल्ने बैतडीको ऐतिहासिक सतबाँझ बागवानीले अहिले आफ्नो पहिचान र स्वरूप बदल्न थालेको छ । जलवायु परिवर्तनको असरले हिउँ पर्न छाडेको छ । पर्याप्त चिस्यान नपुग्दा स्याउका बोट सुक्न थालेपछि यस केन्द्रले नयाँ उपाय खोज्दै हिउँदे फलफूलको हब बनाउने प्रयास थालेको छ । 

विसं २०१९ सालमा सतबाँझको २९ हेक्टर जमिनमा भारतको काश्मीरबाट छ हजार वटा रेड डेलिसियस जातको स्याउका बोट ल्याएर बागवानी स्थापना गरिएको थियो तर ती स्याउका बोटले पछिल्लो समय फल दिन छाडेपछि बागवानीको नाम परिवर्तन गरेर सतबाँझ सुक्खा फलफूल विकास केन्द्र राखिएको छ । 

केन्द्रको नर्सरीमा अहिले वार्षिक ५० हजारभन्दा बढी हिउँदे फलफूलका बिरुवा उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएका बिरुवा सुदूरपश्चिम र कर्णाली प्रदेशसम्म बिक्री हुने गरेको प्राविधिक अर्जुन खड्काले बताए। 

यहाँ उत्पादित उन्नत जातका बिरुवा बैतडीमा मात्र सीमित नभएर सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा निर्यात हुने गरेको छ । हाल नर्सरीमा विशेष गरेर १० हजार ओखरका कलमी बिरुवा हुर्किरहेका छन् ।

सतबाँझको पुरानो साख र इतिहास जोगाउनका लागि हाल जलवायु अनुकूलित होचो जातका फुजी र गाला नामका स्याउका केही बोटसमेत परीक्षणका लागि रोपिएका छन् । केन्द्रका कार्यालय प्रमुख शशिशेखर विष्टका अनुसार अब यो केन्द्रलाई केवल फलफूल उत्पादन गर्ने थलो मात्र नभई एक प्रतिष्ठित अध्ययन अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने तयारी भइरहेको छ ।    

कमेन्ट लोड गर्नुस