सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य

२०८३ जेठ २५, ०३:१५ खबर संवाददाता

काठमाडौँः एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तगर्तको आज भइरहेको खेलमा हङ्कङले नेपाललाई जितका लािग एक सय ८९ रनको लक्ष्य दिएको छ। सिङ्गापुरस्थित सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८८ रनको योगफल बनाएको हो।

हङ्कङका लागि अशुङ्मन रथले सर्वाधिक ८० रनको योगदान दिए। उनले ४५ बलमा छ चौका र छ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय इनिङ खेलेका हुन्। त्यस्तै सहिद वासिफले २८ बलमा सात चौका र तीन छक्काका साथ ५५ रन बनाउँदै आउट भए भने शिव माथुरले २१ बलमा २६ रन बनाए। 

बलिङतर्फ नेपालका लागि शेर मल्लले चार विकेट लिए। त्यसैगरी करण केसीले दुई विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट झारे। नेपालले सेमिफाइनल खेलमा ओमानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। यता हङ्कङले भने मलेसियालाई पाखा लगाउँदै फाइनलमा पुगेको हो। यी दुवै राष्ट्र आगामी सेप्टेम्बरमा जापानमा आयोजनामा हुने एसियन खेलका लागि छनोट भइसकेका छन्। 

यसैबीच, दीपेन्द्र सिंह ऐरीले आफ्नो ट्वान्टी-२० अन्तरराष्ट्रिय ‘करियर’मा आजकै खेलमार्फत १०० खेल पूरा गरेका छन् । सन् २०१८ जुलाई २९ तारिखमा नेदरल्याण्ड्सविरुद्ध लण्डनको लड्समा पहिलो ट्वान्टी-२० आई खेलेका उनले आज भएको हङ्कङविरुद्धको खेलमा १०० खेल पूरा गरेका हुन् ।

कमेन्ट लोड गर्नुस