धनगढीकाे भाटभटेनी अगाडी युवाहरुबीच भएकाे 'खुकुरी हानाहान' काे वास्तविकता
धनगढीः जेठ १७ गते धनगढीस्थित भाटभटेनी सुपर स्टोर अगाडि केही युवाहरूबीच भएको झडपको भिडियो सार्वजनिक भएपछि घटनाको वास्तविकता बाहिर आएको छ।
उक्त घटनामा हङ्ग्री क्याफेका एक कर्मचारीले नाम गाेप्य राख्ने शर्तमा आफुमाथि कुटपिट र अपहरण प्रयास भएको बताएका छन्। प्राप्त जानकारीअनुसार घटना हुनुभन्दा दुई दिनअघि सामान्य विवादबाट सुरु भएको विषय अन्ततः समूहगत आक्रमणमा परिणत भएको हो।
पीडितका अनुसार काम सकेर ढिलो गरी घर फर्किँदै गर्दा बाटोमा मोटरसाइकल रोकेको एक समूहसँग विवाद सुरु भएको थियो। मोटरसाइकलको हाईबिम बत्ती परेपछि उनीहरूले “को हो हाई बिम लगाउने?” भन्दै गालीगलौज गर्न थाले। पीडितले “जानाजान गरेको होइन, गल्तीवश भएको हो” भनेर सम्झाउन खोज्दा पनि उनीहरूले मोटरसाइकल लिएर पछ्याउँदै कुटपिट गरेको बताए। उनका अनुसार साथमा रहेका एक व्यक्तिले चिनजान गराउँदै “दाइ, म तपाईंलाई चिन्छु, किन कुट्नुभएको?” भन्दा “म को हो सम्झाइदे यसलाई” भन्ने धम्कीपूर्ण जवाफ आएको थियो।
पीडितले आफू “हङ्ग्री क्याफेमा काम गर्छु” भन्दा पनि उनीहरूले आक्रामक व्यवहार देखाएको र “म को हो भनेर जान्नुछ भने हङ्ग्री क्याफे अगाडिका क्यामेराम्यानहरूलाई सोध” भनेको बताए। उनले त्यही समयमा “बसौँ, कुरा गरौँ, मिलेर समाधान गरौँ” भन्दै विवाद टुंग्याउन खोजेको तर स्थिति शान्त नबनेको जनाएका छन्।
त्यसको दुई दिनपछि दिउँसो करिब ११ः३० बजे ५–६ जनाको समूह क्याफेभित्र पसेर आफूलाई कुटपिट गर्दै बाहिर लैजान खोजेको पीडितको भनाइ छ। बाहिर लैजाँदै गर्दा “हामिलाइ फोन गर्ने आँट कसरी गरिस” भन्दै धम्की दिएको उनले बताए, तर आफूले कसैलाई फोन नगरेको उनको दाबी छ। समूहले आफूलाई मोटरसाइकलमा जबर्जस्ती चढाएर लैजान खोजेको र टोलका स्थानीय व्यक्तिहरू उपस्थित नभएको भए “जबरजस्ती लगेर जान सक्ने र हतियारसमेत प्रयोग हुन सक्ने अवस्था” रहेको उनले बताएका छन्। स्थानीयको हस्तक्षेपका कारण ज्यान जोगिएको उनको भनाइ छ।
पीडितका अनुसार यदि आफूबाट कुनै गल्ती भएको भए सम्बन्धित व्यक्तिहरू आएर कुरा गर्न सक्थे र गल्ती भए माफी माग्न पनि तयार थिए। तर “७–८ जनाको समूह हातहतियारसहित आएर ज्यानै लिन खोजेको जस्तो अवस्था” सिर्जना भएको उनले बताएका छन्। यस घटनापछि परिवारमा ठूलो तनाव उत्पन्न भएको र कामका सिलसिलामा बाहिर निस्कँदा आफ्नो ज्यानको सुरक्षा जोखिममा परेको महसुस भइरहेको उनले बताए। आफूले कसैलाई कुनै हानि नगरेको दाबी गर्दै घटनामा संलग्न व्यक्तिहरूमाथि यथाशीघ्र कानुनी कारबाहीको माग उनले गरेका छन्।
यसै घटनासँग जोडिएर भाटभटेनी क्षेत्रमा अर्को विवाद पनि देखिएको छ। अर्जुन जैगढीको संयोजकत्वमा ‘भाटभटेनी फोटोग्राफर एसोसिएसन’ गठन गरिएको भनेर उनिहरुले सार्वजनिक गरेका छन्। तर उक्त समिति रुपमा दर्ता भने भएकाे छैन। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष राज बहादुर ऐरले समितिबारे वडामा जानकारी नभएको बताएका छन्। सोही विषयमा फोटो खिच्न पुगेका र अन्य युवाबीच विवाद बढेपछि दुवै पक्षका १४ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको जनाएको छ। उक्त समितिसँग सम्बन्धित व्यक्तिहरू आज बिहान भाटभटेनी क्षेत्रमा फोटो खिच्न पुगेका बेला केही युवाहरूले “हामी पनि बेरोजगार छौं, हामीलाई पनि समितिमा समावेश गर्नुपर्छ” भन्दै आफ्नो माग राखेका थिए। सोही विषयलाई लिएर दुवै पक्षबीच विवाद सिर्जना भएको बताइएको छ।
स्थानीय स्रोतका अनुसार पछिल्लो घटनाले धनगढी क्षेत्रमा युवाहरूबीच समूह बनाएर गतिविधि सञ्चालन गर्ने प्रवृत्ति बढ्दै गएको देखाएको छ। “कोब्रा सरकार”, “नन्दु सरकार” र “ईगल ग्याङ” नामले चिनिने केही समूहहरू सामाजिक सञ्जालमा सक्रिय रही एकअर्काविरुद्ध गालीगलौज, धम्की, भिडन्त र ग्याङ फाइटमा संलग्न हुने गरेको पाइएकाे छ। भाटभटेनी घटनामा पनि यस्ता समूहसँग सम्बन्धित व्यक्तिहरूको संलग्नता हुन सक्ने आशंका गरिएको छ।