सुदूर नेपाललाई विश्वसँग जोड्दै

असिनाले सखाप पारेपछि दोस्रोपटक मकै छर्दै बैतडीका किसान

२०८३ जेठ २४, ०४:२१ खबर संवाददाता

बैतडी: गत साता परेको असिनाले बैतडीकाे मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका किसान समस्यामा परेका छन्। तीन स्थानीय तहमध्ये मेलौली नगरपालिकामा असिनाले सबैभन्दा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण छ।

अचानक परेको असिनाले खेतबारी सेताम्ये बनाउँदा भर्खर उम्रिएका मकैका बोट पूरै नष्ट भएका छन्। मकै गोड्ने तयारीमा रहेका किसान पुनः जोतजाँत गरी दोस्रो पटक बीउ छर्न बाध्य भएका छन्। कतिपय किसानसँग पुनः छर्न आवश्यक बीउसमेत अभाव हुन थालेको छ।

मेलौली नगरपालिकाका किसान करन भट्टका अनुसार चार पाते भइसकेको मकै असिनाले पूर्ण रूपमा सखाप पारेपछि फेरि छर्नुपर्ने अवस्था आएको हो। “असिनाले खेत हिउँले ढाकेजस्तै भयो, मकैको एउटा बोट पनि बाँकी रहेन,” उनले भने, “पहिला गोरु र ट्याक्टरले जोतेर छरेका थियौँ, अहिले पुराना बोटबाट ठुटा उम्रिन्छ कि भनेर हातैले खनेर छर्नुपरेको छ।”

किसानहरूका अनुसार असिनाले माटो थिचिएको हुँदा यस वर्ष उत्पादन घट्ने निश्चितजस्तै भएको छ। दोहोर्‍याएर खेती गर्नुपर्दा लागत बढ्नुका साथै समय पनि ढिलाइ हुने भएकाले मकैसँगै तरकारी उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने चिन्ता बढेको छ।

असिनाबाट भएको क्षतिपछि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तहलाई क्षतिको विवरण उपलब्ध गराउन पत्र पठाएको छ। त्यसपछि मात्रै नगरपालिकाहरूले क्षतिको विवरण संकलन सुरु गरेका छन्। तर, किसानका लागि राहत पाउने सम्भावना भने न्यून देखिएको छ।

मेलौली नगरपालिकाका नगरप्रमुख भीमबहादुर चन्दले घर तथा विद्यालयका छाना उडाएको क्षतिमा मात्रै क्षतिपूर्ति दिन सकिने र असिनाबाट बालीमा भएको क्षतिमा स्थानीय तहबाट राहत दिन कानुनी व्यवस्था नभएको बताए। “हामीले संकलन गरेको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउँछौँ,” उनले भने, “माथिल्लो निकायबाट कुनै राहत आयो भने त्यही अनुसार वितरण हुन्छ।”

राहतको सुनिश्चितता नहुँदा असिनापीडित किसान थप अन्योलमा परेका छन्। 
 

कमेन्ट लोड गर्नुस