सुदूर नेपाललाई विश्वसँग जोड्दै

 सशस्त्र प्रहरीले विपदका लागि बेलौरीमा २९ जना विपद् स्वयंसेवक तयार पार्यो 

२०८३ जेठ २३, ११:४२ खबर संवाददाता

बेलौरी: बेलौरीमा सञ्चालित २१ दिने समुदाय विपद् स्वयंसेवक तालिम सकिएको छ। बैशाख २९ गतेदेखी बेलौरी नगरपालिकामा सञ्चालित २१ दिने समुदाय विपद् स्वयंसेवक तालिम शुक्रवार सकिएको हो।

विपद्को बेला स्थानीय स्तरमै सक्षम स्वयंसेवक तयार गर्न बेलौरी नगरपालिकाको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरले गुल्म बेलौरीमा तालिम सञ्चालन गरेको थियो। तालिममा नगरपालिकाका विभिन्न वडाबाट छनोट गरिएका ३० जना स्वयंसेवकमध्ये २९ जना सहभागी भएका थिए। एक जनाले बिचमै तालिम छोडेका थिए।

उनीहरूलाई भूकम्प, बाढी, आगलागी तथा अन्य विपद्का समयमा खोज तथा उद्धार, प्राथमिक उपचार, जोखिम न्यूनीकरण, राहत व्यवस्थापन, समन्वय तथा विपद् प्रतिकार्यसम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको सिमा सुरक्षा गुल्म बेलौरीका डिएसपी योग्य बस्नेतले जानकारी दिए।

तालिममा सहभागी २९ जना स्वयंसेवकहरू र तालिम सञ्चालनमा योगदान पु¥याउने प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। तालिम लिएका प्रशिक्षार्थीहरूले प्राप्त ज्ञान र सीपलाई समुदायमा प्रयोग गर्दै विपद्को समयमा खोज तथा उद्धार, प्राथमिक उपचार र जनचेतना अभिवृद्धिमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कमेन्ट लोड गर्नुस