सम्पर्कविहीन निजामती कर्मचारीको खोजी गर्दै सरकार
काठमाडौँः सरकारले लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका तथा बिदा सकिएपछि पनि हाजिर नभएका निजामती कर्मचारीहरूको खोजी प्रक्रिया सुरु गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा र असाधारण बिदामा रहेका केही निजामती कर्मचारीहरू बिदा अवधि समाप्त भएपछि पनि सम्बन्धित कार्यालयमा उपस्थित नभएको र राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरण (पिआइएस) अद्यावधिक नभएको भन्दै सूचना जारी गरेको हो।
मन्त्रालयद्वारा प्रकाशित सूचनाअनुसार अध्ययन तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नगरेका कर्मचारीहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो विवरण अद्यावधिक गर्नुपर्नेछ।
त्यसैगरी, सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयहरूलाई आफ्नो निकायबाट स्वीकृत अध्ययन बिदा वा असाधारण बिदामा रहेका कर्मचारीहरूको विवरण, बिदा अवधि समाप्त भएपछि हाजिर भएको वा नभएको अवस्था लगायतका विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी तीन दिनभित्र अभिलेख अद्यावधिक गर्न मन्त्रालयले अनुरोध गरेको छ।
अध्ययन वा असाधारण बिदा समाप्त भइसकेपछि पनि कार्यालयमा हाजिर नभएका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका कर्मचारीहरूको हकमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ।
निजामती सेवामा अभिलेख व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउँदै कर्मचारीहरूको वास्तविक अवस्था सुनिश्चित गर्न यो कदम चालिएको मन्त्रालयको भनाइ छ।