रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनाल रास्वपा सभापति रवि लामिछाने स्वदेश फर्किएपछि शनिवार भारत भ्रमणमा जाने भएका छन्। दुई देशबिच हुने विकास सहकार्यको बारेमा छलफल गर्न भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल भारत भ्रमणमा जान लागेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भ्रमण दलमा रहेका प्रतिनिधि सभा सदस्य दीपक बोहराका अनुसार मन्त्री खनाल चाँडै नै भारत भ्रमण गर्ने भएका छन् । उनले मन्त्री खनाल कहिले जाने भनी मिति नखुलाए पनि भ्रमण चाँडै हुने बताए।
हिजो रास्वपाका सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भएको थियो। सो भेटवार्तामा भारतका प्रधानमन्त्री मोदीले नेपालका वर्तमान सरकारसँग सहकार्य गर्न तयार रहेको र नेपालको तर्फबाट केकस्ता कार्य गर्न सकिन्छ प्राथमिकता अनुसार उपलब्ध गराउन आग्रह गरेका थिए।
त्यही विषयमा थप छलफल गर्न मन्त्री खनाल भारत भ्रमणमा जान लागेको बताइएको छ । भ्रमणको क्रममा विदेश मन्त्री जयशंकर, वाणिज्य मन्त्री पीयूष गोयललगायतसँग भेटवार्ता गर्ने बताइएको छ। यसअघि पनि मन्त्री खनालको भारत भ्रमण तय भएको थियो तर उक्त कार्यक्रम नै स्थगित भएपछि भ्रमण स्थगित भएको थियो।
अहिले त्यही भ्रमणलाई रिसेडुल गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। रास्वपा सभापति लामिछाने भोलि नेपाल फर्किने छन्। भारतमा उनले प्रधानमन्त्री मोदीसहित गृहमन्त्री अमीत शाह, विदेश मन्त्री एस जयशंकर, भाजपाका अध्यक्ष नितिन नवीन लगायत उच्चस्तरीय भेटघाट गरेका छन्।