सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका स्थानीय तहमा १३ करोड भन्दा बढी बेरुजु

२०८३ जेठ २०, ०५:४८ खबर संवाददाता

कञ्चनपुरः नौ स्थानीय तह रहेका कञ्चनपुरमा आर्थिक वर्ष २०८१/८२ मा १३ करोड रुपियाँभन्दा बढी बेरुजु आएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ प्रतिवेदनमा आव २०८१/८२ मा यहाँका नौ वटा स्थानीय तहको बेरुजु १३ करोड ८३ लाख १४ हजार रुपियाँ रहेको छ । जबकी अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यहाँका स्थानीय तहको बेरुजु ४० करोड ६० लाख ७१ हजार रुपियाँ थियो । 

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा लालझाँडी गाउँपालिको बेरुजु अत्यधिक रहेको छ । सो पालिकाको १० अर्ब ३१ करोड ८४ लाख तीन हजार रकमको लेखा परीक्षण गरिएकोमा दुई करोड १९ लाख ७४ हजार रुपियाँ अर्थात् २.१३ प्रतिशत बेरुजु देखिएको छ । 

त्यसै गरी भीमदत्त नगरपालिकामा चार अर्ब १९ करोड ७९ लाख ६९ हजार रुपियाँको लेखा परीक्षण गरिएकोमा पाँच करोड ३९ लाख एक हजार अर्थात् १.२ प्रतिशत बेरुजु रहेको छ । बेदकोट नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को १८ खर्ब ८८ करोड दुई लाख सात हजार रुपियाँको लेखा परीक्षण गरिएकोमा १६ करोड ५० लाख आठ हजार रुपियाँ बेरुजु रहेको छ । 

बेलौरी नगरपालिकाको एक अर्ब ८१ करोड ८३ लाख ६९ हजारको लेखा परीक्षण गरिँदा ६४ लाख ८० हजार रुपियाँ बेरुजु आएको छ । जिल्लामा शुक्लाफाँटा नगरपालिकाको बेरुजु सबैभन्दा कम अर्थात् कुल रकमको ०.३६ प्रतिशत आएको छ । आर्थिक वर्ष २०८१÷८२ मा एक अर्ब ८१ करोड ८३ लाख ६९ हजार रुपियाँको लेखा परीक्षण गरिएकोमा ६४ लाख ८० हजार रुपियाँ बेरुजु आएको छ । 

यस्तै दोधारा चाँदनी नगरपालिकाको आव २०८१/८२ मा एक अर्ब ५२ करोड ८६ लाख ९३ हजार रुपियाँको लेखा परीक्षण गरिएकोमा आठ करोड आठ लाख ३७ हजार अर्थात् ०.८७ प्रतिशत बेरुजु आएको छ।  

बेलडाँडी गाउँपालिकाको ९६ करोड ४४ लाख ३७ हजार रुपियाँको लेखा परीक्षणका क्रममा ४६ लाख ७८ हजार अर्थात् ०.४९ प्रतिशत बेरुजु आएको छ । जिल्लाको कृष्णपुर नगरपालिकाको एक अर्ब ९४ करोड २६ लाख ७८ हजार रुपियाँको लेखा परीक्षणका क्रममा एक करोड ४० लाख ९९ हजार रुपियाँ अर्थात् ०.७३ प्रतिशत बेरुजु आएको छ । 

कमेन्ट लोड गर्नुस