सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया–सहजपुर सडक मर्मतको ठेक्का रद्द

२०८३ जेठ २०, ०४:१६ खबर संवाददाता

धनगढी: महाकाली राजमार्ग अन्तर्गत कैलालीको अत्तरियादेखि सहजपुरसम्मको ४२ किलोमिटर सडक मर्मत तथा स्तरोन्नति कार्यको ठेक्का रद्द गरिएको छ। २०७८ वैशाख २२ गते सम्झौता भई सोही वर्षभित्र सम्पन्न हुनुपर्ने परियोजना पाँच वर्ष बित्दासमेत पूरा नभएपछि सम्बन्धित निकायले ठेक्का सम्झौता अन्त्य गरेको हो।

सडक विभाग अन्तर्गतको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय तथा सडक डिभिजन कार्यालय महेन्द्रनगर, कञ्चनपुरले निर्माणमा चरम ढिलासुस्ती गरेको भन्दै काठमाडौँस्थित नागार्जुन कन्स्ट्रक्सन प्रालिसँग भएको सम्झौता रद्द गरेको जनाएको छ।

सडक डिभिजन कार्यालय र नागार्जुन कन्स्ट्रक्सनबीच महाकाली राजमार्गको कैलाली खण्ड (चेनेज १६-००० देखि ५८-००० सम्म) मा पुनर्स्थापना, भिरालो सडक स्थिरीकरण तथा कालोपत्रे निर्माणका लागि सम्झौता भएको थियो। तर निर्माण कम्पनीले करिब ३० प्रतिशत मात्रै काम सम्पन्न गरी आयोजना अलपत्र पारेको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार निर्माण व्यवसायीलाई पटक–पटक लिखित तथा मौखिक रूपमा काम सम्पन्न गर्न आग्रह गरिए पनि प्रगति नदेखिएपछि २०८२ चैत २३ गते गोरखापत्र दैनिकमार्फत स्पष्टीकरण मागिएको थियो। तर उक्त सूचनाको समेत कुनै जवाफ नआएपछि ठेक्का रद्द गर्ने निर्णय गरिएको हो।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा (२) र (७) तथा ठेक्का सम्झौताका जीसीसी क्लज ७२ र ७२.३ (बी) बमोजिम २०८३ जेठ १८ गतेको निर्णयबाट सम्झौता अन्त्य गरिएको सूचनामा उल्लेख छ।

ठेक्का रद्द भएसँगै सार्वजनिक खरिद ऐन तथा सम्झौताका प्रावधानअनुसार सम्पन्न कामको मूल्याङ्कन गरिने र त्यसबाट निर्धारण हुने क्षतिपूर्ति वा बाँकी रकम सरकारी बाँकी सरह असुलउपर गरिने व्यवस्था रहेको कार्यालयले जनाएको छ।

साथै, सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र वित्तीय फरफारकका लागि कार्यालयमा सम्पर्क गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ।

कमेन्ट लोड गर्नुस