सुदूरपश्चिम प्रहरीको २४ घण्टे कारबाही : १ लाख जरिवाना, १० पक्राउ
धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरीले पछिल्लो २४ घण्टामा सञ्चालन गरेको सुरक्षा तथा नियन्त्रण कारबाहीबाट उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
प्रदेशभर ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि गरिएको कारबाहीबाट एक लाख ९ सय जरिवाना संकलन गरिएको प्रहरीले जनाएको छ। यस अवधिमा लागूऔषध नियन्त्रण अभियानअन्तर्गत खैरो हेरोइन/ब्राउन सुगर १४ ग्राम ७६० मिलिग्राम तथा नाइट्राजेपाम ट्याब्लेटसहित १० जनालाई पक्राउ गरिएको छ।
त्यसैगरी विभिन्न जिल्लाबाट ९ जना फरार प्रतिवादी पक्राउ परेका छन्। भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा लिई तीन लाख ९३ हजार ३० रुपैयाँ बराबरको मालसामान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। कागजपत्र नभएका ९ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।
प्रदेश प्रहरीले लागूऔषध नियन्त्रण र अपराध न्यूनीकरण समाजको साझा जिम्मेवारी भएको उल्लेख गर्दै नागरिकलाई सचेत र सहयोगी बन्न आग्रह गरेको छ। घटनासम्बन्धी आपतकालीन सेवाका लागि प्रहरी कन्ट्रोल १०० र ट्राफिक प्रहरी १०३ मा सम्पर्क गर्न सकिने जनाएको छ।