सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

२०८३ जेठ १७, ०६:२२ खबर संवाददाता

डडेल्धुरा सुदूरपश्चिम प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कैलालीले जितेको छ। 

डडेलधुरामा आयोजित प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५८ पदकसहित कैलालीले उपाधि जितेको हो । कैलालीले ३२ स्वर्ण, १७ रजत र नौ कास्य पदक जितेको छ।

त्यसैगरी, कञ्चनपुर ४३ पदकसहित द्वितीय तथा आयोजक डडेलधुरा ३० पदकसहित तृतीय स्थान हासिल गर्न सफल भएको छ। डडेलधुराले ६ स्वर्ण, सात रजत र १७ कास्य पदक जित्यो। बैतडी चौथो, दार्चुला पाँचौँ, बझाङ छैटौँ, बाजुरा सातौँ, डोटी आठौँ र अछाम नवौँ स्थानमा रहे। प्रतियोगिताभर कुल २३२ पदक वितरण गरिएको थियो। जसमा ६६ स्वर्ण, ६६ रजत र १०० कास्य पदक समावेश रहेका थिए।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले खेलकुद क्षेत्र युवाको प्रतिभा प्रस्फुटन गर्ने महत्त्वपूर्ण माध्यम भएको बताउँदै प्रदेश सरकारले खेलकुद विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्न आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

यही जेठ १४ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ जिल्लाका खेलाडीबीच एथलेटिक्स, तेक्वान्दो, उस्सु, कराते, भलिबल, कबड्डीलगायत खेलमा प्रतिस्पर्धा भएको थियो। छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई यही वर्ष हुने राष्ट्रपति रनिङ शिल्डका लागि सिफारिस गरिनेछ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका खेलाडीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताले प्रदेशभरका खेलाडीबीच आपसी सद्भाव, प्रतिस्पर्धात्मक भावना तथा खेल संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस