सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुर्तीजन्य पदार्थमा कर वृद्धि 

२०८३ जेठ १६, ०६:२८ रासस

सरकारले सुर्तीरहित पान मसला र सुगन्धित सुपारीको अन्तःशुल्क बढाएको छ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रवार प्रस्तुत गरेको आर्थिक विधेयकमा उक्त शुल्क वृद्धि गरिएको हो। यस्तै  सुर्तीजन्य पदार्थमा लाग्ने कर पनि वृद्धि भएको छ। बजेटमार्फत चुरोटमा १० प्रतिशत अन्तःशुल्क निर्धारण गरिएको छ।

अन्तःशुल्कको वृद्धिपछि नेपालमा सुर्तीजन्य पदार्थको करको दर ५१ प्रतिशत बराबर पुगेको छ। विश्व स्वास्थ्य सङ्गठनले सुर्तीजन्य पदार्थमा ७५ प्रतिशतसम्म कर लगाउनुपर्ने उल्लेख गर्दैआएको छ। स्वास्थ्य जोखिमलाई ख्याल गरेर करको दरमा वृद्धि गर्नुपर्ने विभिन्न सरोकारवालाको माग रहँदै आएको थियो।

यस्तै, घरजग्गा कारोबारमा लाग्दै आएको पूँजीगत लाभकरमा पनि वृद्धि भएको छ। यसअघि पाँच प्रतिशत पूँजीगत लाभकर लाग्दै आएकामा अब भने सात दशमलव पाँच प्रतिशत कर लाग्नेछ। यस्तै विद्युतीय सवारीसाधनमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाई असुल गरिने व्यवस्था आर्थिक विधेयकमा गरिएको छ। सुनचाँदी तथा तिनका गरगहना र वस्तुको बिक्री गर्दा सिप प्रवद्र्धन शुल्क लाग्ने व्यवस्था गरिएको छ।

शिक्षा र स्वास्थ्यमा समता कर

निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका शुल्कमा शिक्षा समता शुल्क लाग्ने भएको छ। त्यस्तो शुल्क गुणस्तरीय शिक्षामा पहुँच र शैक्षिक पूर्वाधार निर्माणमा खर्च गरिनेछ। निजी अस्पताल र स्वास्थ्य संस्थामा उपचार गर्न गएका बिरामीबाट असुल गरिने सबै प्रकारका सेवा शुल्कमा पनि स्वास्थ्य समता शुल्क लाग्ने भएको छ। यस्तो शुल्क गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र स्वास्थ्यसम्बन्धी पूर्वाधार निर्माणमा खर्च गर्ने प्रबन्ध गरिएको छ।
 

कमेन्ट लोड गर्नुस