शारदा माध्यमिक विद्यालयको स्वर्णजयन्ती स्मारिका ‘शारदी पुष्प’ लोकार्पण
धनगढी: धनगढी-२ स्थित शारदा माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहका अवसरमा प्रकाशित गरिएको ‘शारदी पुष्प’ नामक स्मारिकाको लोकार्पण गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज ओझाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक यज्ञराज पाठकले स्मारिका लोकार्पण गरेका हुन्।
शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डाक्टर लोकबहादुर विष्ट, पूर्व शिक्षा निर्देशक नन्दराज पन्त, साहित्यकार पद्मराज जोशी, हरिकृष्ण कठायत, गिरिराज ओझा, पूर्व प्रधानाध्यापक यादवप्रसाद जोशी, पदमबहादुर कुँवर लगायत स्वर्णजयन्तीका अवसरमा सम्मानित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
यस्तै, कार्यक्रममा स्थानीय समाजसेवी जनकराज जोशी, भोजराज जोशी, पञ्चोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशकुमा ओझा, धनगढी माविमा प्रधानाध्यापक लक्ष्मणदत्त भट्ट, राष्ट्रिय तुलसीराम माविका प्रधानाध्यापक सिताराम जोशी, जनता आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर सिंह तथा सहप्राध्यापक हरिकृष्ण कडायतलगायत अभिभावक, शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो।
दुई खण्डमा प्रकाशित स्मारिकामा प्रतिवेदनात्मक तथा सिर्जनात्मक सामग्री समेटिएका छन्। विद्यालय स्थापना भएदेखि हालसम्मका शैक्षिक, सामाजिक तथा भौतिक विकासका गतिविधिहरू समावेश गरिएको स्मारिकामा विद्यालय स्थापना र उन्नयनमा योगदान पुर्याउने व्यक्तिहरूको विवरण पनि उल्लेख गरिएको छ। साथै सुदूरपश्चिमका साहित्यिक स्रष्टाहरूका लेख–रचना तथा आञ्चलिक साहित्यका विविध पक्ष समेटिएको जनाइएको छ।
विद्यालय २०३२ सालमा स्थानीय फकलु चौधरीले जग्गा दान गरेपछि स्थापना गरिएको थियो। हाल कक्षा १२ सम्म अध्ययन हुने विद्यालयमा सीटीईभीटी अन्तर्गत डिप्लोमा तहका कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन्।