ममता काफ्ले भट्ट हत्या प्रकरणः आराबाट मानव कपाल फेला, डीएनए परीक्षणका लागि पठाइयो
अमेरिकाको भर्जिनियामा नेपाली मूलकी ममता काफ्ले भट्ट हत्या प्रकरणमा नयाँ फरेन्सिक प्रमाण सार्वजनिक भएको छ। अदालतमा दर्ता गरिएको प्रतिवेदनअनुसार ममता र उनका श्रीमान् नरेश भट्टको घरबाट बरामद गरिएको रेसिप्रोकेटिङ आरामा मानव कपाल र कपालका टुक्रा फेला परेका हुन्।
डब्लुयुएसए९ मा प्रकाशित समाचार तथा नयाँ अदालतको प्रतिवेदन अनुसार अमेरिकाको भर्जिनियास्थित म्यानासस पार्कमा नेपाली मूलकी ममता काफ्ले भट्ट हत्या प्रकरणमा नयाँ फरेन्सिक प्रमाण सार्वजनिक भएको छ। प्रहरीले नरेश भट्टको घरबाट बरामद गरेको काठ वा फलाम काट्ने विद्युतीय आरीमा मानिसको ३ वटा कपाल र १३ वटा कपालका टुक्रा फेला पारेको हो।
अदालतमा दर्ता गरिएको प्रतिवेदनअनुसार उक्त कपालहरूलाई विशेष माइक्रोस्कोपी प्रविधिबाट परीक्षण गरिएको थियो। तीमध्ये तीन वटा कपाल डीएनए परीक्षणका लागि उपयुक्त हुन सक्ने भन्दै फरेन्सिक बायोलोजी शाखामा पठाइएको छ। कपालका टुक्राहरू भने डीएनए परीक्षणका लागि उपयुक्त नरहेको उल्लेख गरिएको छ।
यसअघि पनि अभियोजन पक्षले ममता काफ्ले भट्टको डीएनएसँग मिल्ने रगत दम्पतीको घरको शयनकक्ष, बाथरूम तथा सोही आरामा फेला परेको जनाएको थियो। प्रहरीले ममता काफ्ले भट्टको शव टुक्र्याइएको हुनसक्ने आशंका गर्दै आएको छ, यद्यपि हत्या गर्न प्रयोग भएको हतियार भने औपचारिक रूपमा पुष्टि गरिएको छैन।
ममता हत्या आरोपमा पक्राउ परेका उनका श्रीमान् नरेश भट्टले भने आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्। उनी हाल धरौटीविना जेलमा छन् भने मुद्दाको सुनुवाइ आगामी अक्टोबर ५ बाट सुरु हुने तय गरिएको छ।