सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको डिलासैनी गाउँपालिका अध्यक्षमाथि दोहोरो–तेहोरो सुविधा लिएको आरोप, अख्तियारमा उजुरी

२०८३ जेठ १५, ०१:४१ नारायण अवस्थी

धनगढीः डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीमाथि दोहोरो–तेहोरो सेवा सुविधा लिएको आरोप लागेको छ। अध्यक्ष जोशीले सरकारी गाडी प्रयोग गर्दै आएका बेला भाडाको गाडी प्रयोग गरेको शीर्षकमा समेत रकम बुझेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो।

उजुरीअनुसार अध्यक्ष जोशी २०७९ सालमा निर्वाचित भएयता गाउँपालिकाको सुपप्र ०१–००१ झ ४४८ नम्बरको सरकारी गाडी प्रयोग गर्दै आएका छन्। उक्त गाडीको इन्धन, मर्मत तथा सर्भिसिङ खर्च गाउँपालिकाले नै व्यहोर्दै आएको दाबी गरिएको छ।

तर, गाउँपालिकाबाट गाडी उपलब्ध नभएको देखाउँदै अध्यक्ष जोशीले मासिक १० हजार रुपैयाँ जनप्रतिनिधि सुविधा लिँदै आएको आरोप छ। यसका साथै आर्थिक वर्ष २०७९/०८० मा भाडाको गाडी प्रयोग गरेको भन्दै १९ लाख ३८ हजार रुपैयाँ भुक्तानी गरिएको उजुरीमा उल्लेख छ।

सुदूरपश्चिम प्रदेश सरकारको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐनविपरीत एउटै शीर्षकमा दोहोरो–तेहोरो सुविधा लिइएको दाबी गरिएको छ। साथै, महालेखा परीक्षकको प्रतिवेदनले पनि उक्त खर्चलाई अनियमित ठहर गरेको उल्लेख गरिएको छ।

उजुरी परेपछि अख्तियारले चैत २६ गते गाउँपालिकालाई १५ दिनभित्र प्रमाणित कागजात उपलब्ध गराउन पत्राचार गरेको थियो। तर, हालसम्म आवश्यक कागजात बुझाइएको छैन।

अख्तियारले अध्यक्षलाई उपलब्ध गराइएका सेवा सुविधाको विवरण, इन्धन खर्च, गाडी प्रयोगको विवरण, कार्यालयमा रहेका सवारी साधनको मौज्दात, भाडामा लिइएका गाडीसम्बन्धी कागजात तथा महालेखा प्रतिवेदनमा उल्लेख बेरुजु फर्छ्यौटको अवस्थासम्बन्धी प्रमाणित प्रतिलिपि माग गरेको छ।

यस विषयमा अध्यक्ष जोशीसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन बन्द रहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरबहादुर साउँदले अख्तियारलाई कागजात बुझाउन बाँकी रहेको बताउँदै विस्तृत जानकारीका लागि अध्यक्षसँगै बुझ्न आग्रह गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस