सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालविवाह अन्त्य गर्न ' चिन्तन' बदल्नुपर्नेमा जोड

२०८३ जेठ १५, ०१:१७ नारायण अवस्थी

धनगढी: बालविवाह अन्त्य गर्नका लागि सामाजिक चिन्तन बदल्नु पर्ने कुरामा जोड दिइएको छ। बिहीबार धनगढीमा आयोजित बालविवाह अन्त्यका लागि रणनीतिक योजना निर्माण प्रक्रियामा प्रदेशस्तरीय सरोकारसँगको सुझाव संकलन कार्यक्रममा सहभागी वक्ताहरूले सामाजिक चिन्तनसँगै व्यक्तिका व्यवहारमा परिवर्तन ल्याएर बालविवाह अन्त्य हुने विश्वास व्यक्त गरे।

सामाजिक विकास मन्त्रालयको समन्वयमा "बालिका दुलही होइनन् नेपाल" ले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रदेश सभा सदस्य तथा बालबालिका तथा समाज परिवर्तनको क्षेत्रमा क्रियाशील संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

सुदूरपश्चिम प्रदेशमा २० वर्ष नपुग्दै विवाह गर्नेको संख्या उच्च रहेको छ। राष्ट्रिय जनगणना-२०७८ अनुसार ३४ दशमलव ४ प्रतिशत व्यक्तिको पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको देखिन्छ।

यस्तै, १५-१७ वर्षको उमेरमा पहिलो विवाह गर्नेको संख्या २२ दशमलव ३ प्रतिशत छ भने १०-१४ वर्षमै विवाह हुने दर ७ प्रतिशत तथा १० वर्षमुनिको विवाह हुने दर ०.३ प्रतिशत छ।

शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा बालविवाहको दर उच्च रहेको तथ्याङ्कले देखाएको छ। सुदूरपश्चिम प्रदेशमा व्याप्त बालविवाह न्यूनीकरणका लागि प्रदेश र स्थानीय सरकारले विषेश कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

प्रदेश सरकारले निर्माण गर्न लागेको बालविवाह न्यूनीकरण रणनीतिमा बालबालिका, युवा तथा सरोकारवालाको राय र सुझाव समेट्ने काम भएको छ।

सरोकारवालाहरूले बालविवाह न्यूनीकरण गर्न आर्थिक, सामाजिक तथा शैक्षिक रुपमा व्यक्ति, परिवार र समाज सक्षम हुनुपर्ने बताए।

यस्तै, किशोर किशोरीको सोचमा परिवर्तन ल्याएर बालविवाह कम गर्न सकिने बताइएको छ। कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक महेन्द्रराज जोशीले किशोर-किशोरीको सोच तथा व्यवहारमा परिवर्तन ल्याउन सके बालविवाह न्यून हुने बताए।

उनले सामाजिक सञ्जालको प्रभावमा परेर छिटो विवाह हुने गरेको बताउँदै किशोर-किशोरीको सोच तथा व्यवहारमा परिवर्तन ल्याउन सामाजिक, शैक्षिक र पारिवारिक तहबाट आवश्यक काम हुनुपर्ने बताए।

यस्तै गैरसरकारी संस्थामा कार्यरत एकराज बडूले ऐनका आधारमा रणनीति बन्नुपर्ने बताए। उनले बाल सञ्जाल, युवा सञ्जालको गठन गरेर स्थानीय तहमा बालविवाह न्यूनीकरणका लागि सचेतना बढाउनुपर्ने बताए।

नेपाल प्रहरीका एसपी महेन्द्र नेपालले बालविवाहका दोषीहरूलाई कानुनी कारबाही गर्न खोज्दा उच्च राजनीतिक तहबाटै दबाब आउने गरेको बताए।

'उच्च राजनीतिक तहबाटै बालविवाह विरुद्धको कारबाही रोक्न दबाब आउने गरेको छ।बालविवाह हुनुको कारण  किशोर-किशोरी मात्रै नभए अभिभावक पनि जिम्मेवार रहेको पाइएको छ,' उनले भने, 'अनलाइनका माध्यमबाट हुने कुराकानी र गतिविधिले बालविवाह बढाउन भूमिका खेलेको छ। प्रविधिको दुरुपयोग हुँदा पनि बालविवाहका घटना हुने गरेको पाइएको छ।'

कञ्चनपुरको पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलियाकुमारी रानाले स्थानीय तहबाट बालविवाह न्यूनीकरण गर्न सबै प्रयास गर्ने बताइन्। उनले बालविवाह हुन नदिन राज्यले सचेतना फैलाउने र अभिभावकलाई बढी जिम्मेवार बनाउनुपर्ने बताइन्।

कार्यक्रममा प्रदेश सभा सदस्य एवं संसदको सामाजिक विकास समितिकी सदस्य जानकएए कुँवरले बालविवाह अन्त्यका लागि राज्य, संघ संस्था र अभिभावकले आ-आफ्नो भूमिका खेल्न सक्नुपर्ने बताइन्।

उनले भनिन्, 'गरिबी र अभावले मात्रै बालविवाह हुन्छन् भन्ने कुरा पूर्ण सत्य होइन। धनी र सम्पन्न परिवारमा पनि छिटो विवाह हुने गरेको छ,' उनले भनिन्, ' अभिभावकले सन्तानलाई बुझाउन र बुझ्न नसक्दा, खुलस्त संवादको वातावरण परिवारभित्र नहुँदा भागेर विवाह हुने गरेको छ।'

प्रदेश सभा सदस्य एवं सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले यौनलाई सही किसिमले नबुझ्दा समस्या भएको बताउँदै यौनका विषयमा छलफल र बहस भए बालविवाह न्यूनीकरण गर्न सहज हुने बताए।

उनले सामाजिक संरचनाको कारणले पनि बालविवाह हुने गरेको बताए। 'सामाजिक संरचनाको कारण पनि बालविवाह हुने गरेको छ। व्यक्ति,परिवार र समाजको सोच, चिन्तन र व्यवहारमा परिवर्तन ल्याएर समस्याको समाधान खोज्नुपर्छ,' उनले भने, 'बालविवाह एक  बहुआयामिक समस्या हो। बालविवाह अन्त्य गर्ने योजना प्रदेश गौरवको योजना हुनुपर्छ।' 

सभापति पाठकले समाजको चिन्तनमा रुपान्तरण गर्दै सुदूरपश्चिमलाई बालविवाहमुक्त प्रदेश बनाउन सकिने बताए।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस